
पृथ्वी नारायण गोल्ड कपमा आजदेखि सेमिफाइनलका खेल हुने : आयोजक र पुलिस भिड्दै
जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रथम पृथ्वी नारायण गोल्ड कप फुटबल प्रतियोगितामा आज (बुधबार)देखि सेमिफाइनलका खेल सुरु हुने भएको छ । गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा जारी प्रतियोगितामा मंगलबार एपिएफ एफसी र श्री भगवती युवा क्लब बीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा १–० गोल अन्तरले एपिएफ एफसी पराजित बनेको छ ।
प्रतियोगिता नकआउटको आधारमा भएको छ । पहिलो खेलमा आयोजकसँग संकटा एफसी १–० गोल अन्तरले पराजित बनेको थियो । दोस्रो खेलमाा चित्लाङ एफसीसँग १–० गोल अन्तरले सादोबाटो युथ क्लब पराजित बनेको नगर खेलकुद संयोजक प्रदिप कुँवरले जानकारी दिए । तेस्रो खेलमा पालानिङ ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दैै नेपाल पुलिस क्लब बिजयी बनेको थियो ।
पराजित बनेसँगै संकटा एफसी, सादोबाटो युथ क्लब, पालानिङ ब्वाइज युनाइटेड र एपिएफ एफसी प्रतियोगिताबाट नकआउट भएका छन् । ए डिभिजनका ७ र आयोजक १ गरी आठ टिमको प्रतियोगितामा सहभागिता रहेको थियो । चार टिम नकआउट भएसँगै अब प्रतिस्पर्धामा चार टिम बाँकी रहेको खेलकुद संयोजक कुवँरले बताए । आजदेखि हुने सेमिफाइनलको पहिलो खेलमा आयोजक टिम र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने कुवँरले बताए ।
प्रतियोगिताको बिजेता टिमले नगद ८ लाखको साथमा ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपबिजेता टिमले ४ लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल अवलोकन गर्नका लागि दुई हजारदेखि २५ सय सम्म दर्शक अट्ने अस्थायी प्याराफिट समेत निमार्ण गरिएको छ । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा जारी प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।




