
पृथ्वीनारायण गोल्ड कपको तयारी तिव्र गतिमा
गोनपा–१० छेवेटारस्थित खेल मैदानमा यही माघ २४ गतेबाट सुरु हुने प्रथम पृथ्वीनारायण गोल्ड कपको तयारीले तिव्र गति लिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको वडा नं १० का वडाअध्यक्ष प्रदिप कुँवरले बताए ।
कुँवरका अनुसार गोल्डकपलाई माध्यनजर गर्दै छेवेटार खेल मैदानमा पूर्वाधार निर्माणको काम भैरहेको छ । ‘गोल्डकपलाई व्यवस्थित बनाउन २५ सय सिट क्षमताको प्याराफिट निर्माण भैरहेको छ’, उनले भने, ‘खेलमैदानलाई घेराबार गर्ने, रङ्गरोगन लगायत स–साना कामहरु पनि भैरहेका छन् ।’ छेवेटारको सुर्योदय युवा परिवारले खेल मैदान व्यवस्थापनमा सहजिकरण गरेको उनले जनाए ।
गोल्डकपलाई मध्यनजर गरेर गोरखा नगरपालिका वडा नं १० ले छेवेटारमा खाना महोत्सव आयोजना गर्न लागेको छ । गोल्डकप अवधिभर खाना महोत्सव संचालन हुने वडाअध्यक्ष कुँवरले बताएका छन् । खाना महोत्सवमा स्थानीय खानाका परिकारसहित विभिन्न सांस्कृतिक कार्यक्रम रहने उनको भनाइ छ ।
जिल्ला खेलकुद विकास समितिले मंगलबार ‘प्रथक पृथ्वीनारायण गोल्डकप’को ट्रफी अनावरण गरेको छ । समितिले जिल्ला सदरमुकामको ठुलो आँगनस्थित पृथ्वीनारायण शाहको शालिक अगाडी ट्रफी अनावरण गरेको हो । पृथ्वीनारायण शाहसहित गोरखकाली मन्दिर, मनकामना, गोरखा सङग्रहालय समेटेर समग्र जिल्लाको धार्मिक एवं सांस्कृतिक पक्ष समेटेर ट्रफी तयार पारिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेमबहादुर तामाङले बताएका छन् ।
प्रतियोगितामा ‘ए’ डिभिजनका ७ वटा क्लब र जिल्ला खेलकुद बिकास समिति गोरखाको एक टिम गरी ८ टीमबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको लागि टाइसिट समेत सार्वजनिक भएको छ । जसअन्र्तगत उद्घाटन खेलमा माघ २४ गते संकटा फुटबल क्लब र आयोजक गोरखा स्पोर्ट काउन्सिल बीच प्रतिस्पर्धा हुने समितिका अध्यक्ष तामाङले जानकारी दिए ।
माघ २५ गते सातदोबाटो युथ क्लब र चित्लाङ फुटबल क्लब बीच खेल हुनेछ । यस्तै, माघ २६ गते प्लान्निङ बोइज युनाइटेड र नेपाल पुलिस क्लब बीच तथा माघ २७ गते श्री भगवती क्लब र एपीएफ फुटबल क्लब बीच खेल हुने उनले बताए । प्रतियोगिताको बिजेता टिमले ८ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
उपबिजेताले भने नगद रु ४ लाख पाउने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।प्रतियोगिताले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत मद्दत गर्ने विश्वास आयोजकको छ ।




