
तातोपानी मेला–२०८२ सम्पन्नः भलिबल प्रतियोगिताको उपाधि घले हार्भेस्टिङ क्लव लापूवेशीको पोल्टामा
उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ खोर्लावेशीमा ‘ऐतिहासिक तातोपानी मेला–२०८२’ सम्पन्न भएको छ । लार्के मनासलु युवा क्लवको आयोजनामा यही माघ १६ गतेबाट सुरु भएको तातोपानी मेला सोमबार सम्पन्न भएको हो ।
विविध कार्यक्रमसहित तातोपानी मेला भव्यताका साथ सम्पन्न भएको आयोजक लार्के मनासलु युवा क्लवका अध्यक्ष धनकुमार गुरुङले बताए । ‘मितिनी’ मेला समेत भनेर चिनिने तातोपानी मेलामा २० जोडीभन्दा बढीले मित–मितिनी लगाएको उनले जानकारी दिए । मेला अवधिभर १० हजार बढीले अवलोकन गरेको आयोजकको भनाइ छ ।
तातोपानी मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि घले हार्भेस्टिङ क्लव लापूवेशीले हात पारेको मेला आयोजक समितिका संयोजक प्रदीप खत्रीले बताए । यस्तै, कालदेवी युवा क्लव माछिखोलाले प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको छ भने जुनतारा र्सिजनशील युवा क्लव रुन्चेत तेस्रो बनेको उनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमश रु एक लाख ३५ हजार, ६५ हजार र ४० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । भलिवल प्रतियोगितामा १४ टिमले सअभागिता जनाएको खत्रीको भनाई छ ।
मेलाको अवसरमा आयोजित महिला समूहगत लोकदोहोरी नृत्य प्रतियोगितामा रुन्चेत बुहारी समूह प्रथम भएका छन् । यस्तै, लोकदोहोरी प्रतियोगिताको उपाधि धार्चे–३ उहियाको जिङ्ला महिला समूह प्रथम भएको छ भने खुल्ला नृत्य प्रतियोगितामा धार्चे–३ की सातकुमारी गुरुङ प्रथम भएकी छिन् ।
मेला अवधिभर बिभिन्न सांस्कृतिक कार्यक्रम एवं रैथाने खाना महोत्सव लगायत विभिन्न कार्यक्रमहरु भएका थिए । मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहको थियो । गोरखासँगै धादिङ, लमजुङ, कास्की, तनहुँ लगायत जिल्लाबाट पर्यटकहरु मेला अवलोकन गर्न आएका थिए ।
आयोजक लार्के मनासलु युवा क्लवका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षता एवं धार्चे गाउँपालिकाको अध्यक्ष लक्षमण गुरुङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच मेलाको समापन भएको छ ।




