
प्रथम पृथ्वीनारायण गोल्डकप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा
गोरखामा यही माघ २४ गतेबाट संचालन हुने प्रथम पृथ्वीनारायण गोल्डकप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला खेलकुद बिकास समितिले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सम्झनामा प्रतियोगिता आयोजना गरेको हो ।
फागुन २ गतेसम्म संचालन हुने प्रतियोगिताको ९० प्रतिशत तयारी पूरा भएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको उनले जानकारी दिए ।
गोल्डकपलाई मध्यनजग गरेर छेवेटार खेलकुद मैदानमा २५ सय सिट क्षमताको प्याराफिट निर्माण भैरहेको छ । साथै, अन्य पूर्वधार निर्माणको काम भैरहेको जिल्ला खेलकुद बिकास समिति अध्यक्ष प्रेम तामाङले बताएका छन् । तामाङका अनुसार प्रतियोगितामा कुल आठवटा टिमले सहभागीता जनाउनेछ ।
शसस्त्र प्रहरीको ए.पिए.फ फुटबल क्लव, नेपाल पुलिस क्लव, सातदोबाटो युवा क्लव र श्री भगवती क्लवले प्रतियोगितामा सहभागिता जनाउने छन् । यस्तै,। संकटा एफसी, प्लानिङ बोइज् युनाइटेड, चित्लाङ एफसी र जिल्लाको गोरखा खुलकुद परिषदको टिमले प्रतियोगितामा सहभागिता जनाउने आयोजकको भनाई छ ।
प्रतियोगिताको उपाधी बिजेता टिमले ८ लाख नगद पुरस्कारको साथमा ट्रफि प्राप्त गर्ने छ । उपबिजेता टिमले ४ लाख नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ । उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक र गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामार्फत जिल्लाको खेल क्षेत्रको बिकाससँगै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य आयोजकको छ ।
गोरखा जिल्लाको हालसम्मको सर्वाधिक पुरस्कार राशी भएको यो पहिलो प्रतियोगिता हो । प्रतियोगिता गर्न करिव ८२ लाख लाग्ने अनुमान आयोजकको छ । हालसम्म गण्डकी प्रदेश सरकारबाट १५ लाख र गोरखा नगरपालिकाबाट ५ लाख रकम सुनिश्चित भएको बताइएको छ । आर्थिक सहयोगका लागि सरकारी निकाय तथा बिभिन्न संघसंस्थासँग समन्वय भइरहेको समिति अध्यक्ष तामाङले बताए ।
पहिलो पटक हुन लागेको गोल्डकपले आगामी दिनमा पनि निरन्तरता पाउने बताइएको छ ।




