
दोस्रो जिल्लास्तरीय मेयर कप कराँते प्रतियोगिता सम्पन्न
दोस्रो जिल्लास्तरीय मेयर कप कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल कराँते महासंघ गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला सदरमुकाममा प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा ७ स्वर्ण, ८ रजत र १३ कास्य पदक जित्दै गोरखा नगरपालिका प्रथम भएको छ । दोस्रो हुने सहिदलखन गाउँपालिकाले २ स्वर्ण र ३ रजत पदक हात पारेको छ । २ स्वर्ण, २ रजत र १ कास्य पदक जितेर उत्तरी गोरखाको धार्चे गाउँपालिका तेस्रो भएको छ भने सान्त्वना हुने भीमसेनथापा गाउँपालिकाले १ स्वर्ण र ४ कास्य पदक हात पारेको छ । बिजता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा जिल्लाका सबै स्थानिय तहले सहभागिता जनाएको नेपाल कराँते महासंघका बुद्ध गुरुङले बताए । प्रतियोगितामा जिल्लाभरबाट करिब डेढ सय जना खेलाडीहरुको सहभागिता रहेको उनले जानकारी दिए । उनका अनुसार छात्रतर्फ धार्चेका रुपेश गुभाजु उत्कृष्ट खेलाडी बनेका छन् । यस्तै, छात्रातर्फ बारपाक सुलिकोट गाउँपालिकाकी अनिता नेपाली सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएकी छन् ।
मेयर कपको अवसर पारेर महासंघले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी गोरखाका खेलाडीहरुलाई सम्मान समेत गरेको छ । नेपालबाट प्रतिनिधित्व गर्दै दुई पटकसम्म ओलम्पिकमा सहभागि भएका गोरखा नगरपालिकाका एथलेटिक्स खेलाडी टिका बोगोटीलाई सम्मान गरेको छ । यस्तै, विभिन्न एसियन गेम र साफ च्याम्पियनसीपमा सहाभागिता जनाएका होमबहादुर थापा मगर र कराँते खेलाडी मक्करबहादुर गुरुङलाई समेत सम्मान गरिएको बताइएको छ ।
नेपाल कराँते महासंघ गोरखाका निवर्तमान अध्यक्ष रामबहादुर थापा मगर र महासंघका वरिष्ठ सल्लाहकार विष्णु राना मगरलाई पनि कार्यक्रममा सम्मान गरिएको महासंघले जनाएको छ । नेपाल कराँते महासंघ गोरखाका अध्यक्ष ग्याम्जो लामाको अध्यक्षता एवं गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रमेबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए ।




