
गोरखा नगरपालिकास्तरीय तेस्रो मेयरकप फुटबल प्रतियोगिता सुरु
गोरखा नगरपालिकास्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आयोजनामा छेपेटारस्थित खेलकुद मैदानमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन शनिबार तीन खेल सम्पन्न भएको गोरखा नगरपालिकाका खेलकुद संयोजक एवं वडा नं १० का अध्यक्ष प्रदिप कुँवरले बताए । प्रतियोगितामा गोरखा नगरपालिकाका १४ वटै वडाहरुले सहभागिता जनाएका छन् । बुधबारसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुनेले नगद रु १ लाख १ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
दोस्रो हुने टिमले ५५ हजार ५५५ रुपैँया नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो र सान्त्वना हुने टिमले ३३ हजारका दरले नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
वडाध्यक्ष कुँवरको अध्यक्षता एवं गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा उपप्रमुख मसली माया थोकर, वडाध्यक्ष एवं जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिती रहेको थियो । प्रतियोगिताको मेयर रानाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।




