| बुधबार, असार ९, २०८३

गोनपा १० को चौँथो वडा कप सम्पन्न

छेवेटारमा जारी गोरखा नगरपालिका–१० स्तरीय चौँथो वडा कप–२०८२ सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।

वडास्तरीय महिला तथा पुरुषतर्फको खुल्ला र भेट्रान्स फुटबल प्रतियोगिता भएको वडाध्यक्ष प्रदिप कुँवरले बताए । पुरुष खुल्लातर्फ ७, पुरुष भेट्रान्सतर्फ ६ तथा महिलाको खुल्लातर्फ २ र भेट्रान्सतर्फ ८ टिम सहभागी रहेको उनले जानकारी दिए ।
पुरुषतर्फको खुल्ला फुटबल प्रतियोगितामा छेवेटार बजार टोल प्रथम भएको छ भने तीनघरे टोल छेवेटार दोस्रो बनेको छ ।

उनीहरुले क्रमश रु २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेको वडाध्यक्ष कुँवरले बताए । पुरुष भेट्रान्सतर्फ तिनघरे बिरिन्चोक टोल पहिलो भएको छ । छेवेटार बजार टोल दोस्रो बनेको छ । दुवै टिमले पुरस्कार बापत खसी पाएका छन् ।
महिला फुटबलअन्तरगत खुल्लातर्फ तारा मावि प्रथम भएको छ ।

सूर्याेदय बोर्डिङ स्कुल दोस्रो बनेको आयोजकले जनाएको छ । महिला भेट्रान्सतर्फ तिनघरे बिरिन्चोक टोल पहिलो र छेवेटार बजार टोल दोस्रो बनेको छ । भेटेरान्सतर्फको बिजेता समूहले पुरस्कार बापत खसी पाएका छन् । वडा कार्यालद्धारा विनियोजित चार लाख रकमले वडा कप संचालन गरिएको हो ।

वडाध्यक्ष कुँवरको अध्यक्षता तथा गोरखा नगर प्रमुख कृष्ण रानाको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको हो । वडाकपलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने वडाध्यक्ष कुँवरले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्