
आरुघाटमा १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
१३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बिहिबारबाट आरुघाट बजारमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाको समन्वयमा प्रतियोगिता भैरहेको हो ।
आरुघाटको वडा नं ९ स्थित भिमोदय माविमा बिहिबार, शुक्रबार र शनिबार प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए । प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहहरुबाट करिब ५५० जना खेलाडीहरुल सहभागिता जनाएको उनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा छात्र र छात्रातर्फ भलिबल, कबड्डी, एथलेटिक्स, कराँते र तेक्वान्दो गरेर ५ विधामा खेलहरु हुनेछन् ।
जिल्लाका सबै पालिकाहरुबाट ‘केन्द्र भाग’मा पर्ने भएकाले यो वर्ष आरुघाटमा प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष तामाङ बताउँछन् । विशेष गरी उत्तरी गोरखाको चुमनुब्री र धार्चे, बारपाक सुलिकोट, भीमसेनथापा, गाउँपालिकालाई नजिक हुने गरी आरुघाटमा कार्यक्रम गर्ने तय भएको उनको भनाइ छ ।
जिल्ला स्तरीय प्रतियोगिताबाट छनोट भएकाहरुले बागलुङमा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने तामाङले बताएका छन् । प्रदेश स्तरीय प्रतियोगितामा जिल्लाबाट छात्र र छात्रातर्फ भलिबल र कबड्डीमा १८–१८ जना, एथलेटीक्समा २२–२२ जना र कराँते तथा तेकवान्दोमा १२–१२ जनाले सहभागिता जनाउने छन् ।
१३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन बिहीबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका छन् । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रेम तामाङको अध्यक्षता एवं प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, जिल्लाका विभिन्न पालिकाहरुको प्रमुख, उपप्रमुख एवं प्रशासकिय अधिकृत, स्थानिय जनप्रतिनिधिहरु, कर्मचारी, शिक्षक, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।




