
शिक्षक, प्राध्यापक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि रत्नराज्यलाई
गोरखा नगरपालिकास्तरीय शिक्षक, प्राध्यापक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि रत्नराज्य मावि बिरिन्चोकले जितेको छ । गोरखा नगरपालिका तथा वडा कार्यालयको सहयोगमा आयोजना भएको प्रतियोगितामा रन्तराज्य मावि प्रथम भएको हो ।
यही शुक्रबार र शनिबार भएको प्रतियोगितामा गोरखा क्याम्पस गोरखाले दोस्रो स्थान हासिल गरेको छ । यस्तै, आयोजक महालक्ष्मी मावि र महेन्द्र मावि कुन्दिुर तेस्रो बनेको महालक्ष्मी माविका शिक्षक कृष्ण गुरुङले बताए । प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश रु २० हजार, १५ हजार र १०–१० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको उनले जानकारी दिए ।
भलिबल प्रतियोगिता गोरखा नगरपालिका वडा नं ९ स्थित शिखर खेलमैदानमा भएको थियो । प्रतियोगितामा गोरखा नगरपालिका भित्रमा निजी तथा सामुदायिक विद्यालय र क्याम्पसहरु गरेर १६ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएको आयोजक महालक्ष्मी माविले जनाएको छ ।
महालक्ष्मी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिव केसीको अध्यक्षता एवं गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गोरखा नगरपालिका वडा नं ९ का वडाअध्यक्ष कुलबहादुर कुँवर, महालक्ष्मी माविका प्रधानध्यापक टेकबहादुर उपरकोटी लगायतले मन्तव्य राखेका थिए ।




