| बुधबार, असार ९, २०८३

गोरखामा प्रथम पृथ्वीनारायण गोल्डकप फुटवल प्रतियोगिता हुने

गोरखामा प्रथम पृथ्वीनारायण गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको सम्झनामा यही माघ २४ गतेबाट प्रतियोगिता गर्न लागिएको हो । शनिवार पत्रकार सम्मेलन गर्दै आयोजक जिल्ला खेलकुद बिकास समिति गोरखाले सो कुरा जानकारी गराएको हो ।

गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको समिति अध्यक्ष प्रेमबहादुर तामाङले बताए । ‘कुल आठ टिम सहभागी हुन्छन्,’ उनले भने, ‘ए डिभिजनका कम्तिमा चार र बिभागिय दुई टिम समावेश गराउने भनेका छौ ।’

अन्य मोफसलका क्लबहरु हुने उनले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उपाधी बिजेता टिमले ८ लाख नगद पुरस्कारको साथमा ट्रफि प्राप्त गर्ने छ । उपबिजेता टिमले ४ लाख नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ । उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक र गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको तामाङले बताए । प्रतियोगिता फागुन २ गतेसम्म चल्ने छ । खेल क्षेत्रको बिकाससँगै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य आयोजकको छ ।

गोरखा जिल्लाको हालसम्मको सर्वाधिक पुरस्कार राशी भएको यो पहिलो प्रतियोगिता हो । प्रतियोगिता गर्न करिव ८२ लाख लाग्ने अनुमान आयोजकको छ । हालसम्म गण्डकी प्रदेश सरकारबाट १५ लाख र गोरखा नगरपालिकाबाट ५ लाख रकम सुनिश्चित भएको बताइएको छ । आर्थिक सहयोगका लागि सरकारी निकाय तथा बिभिन्न संघसंस्थासँग समन्वय भइरहेको समिति अध्यक्ष तामाङले बताए ।

यही पुष २७ गते प्रतियोगिता गर्ने भनिएपनि विविध कारणवश केही ढिलाई भएको उनको भनाइ छ । पहिलो पटक हुन लागेको गोल्डकपले आगामी दिनमा पनि निरन्तरता पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्