| बुधबार, असार ९, २०८३

गोरखा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तारा माविलाई

गोरखा नगरपालिकास्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि तारा मावि छेपेटारले जितेको छ । पालिकाको शिक्षा शाखाको आयोजनामा शनिबार, आइतबार र सोमबार सञ्चालित प्रतियोगितामा १४ पदक जित्दै तारा मावि विजयी भएको हो ।

विभिन्न ३० विधामा भएको खेलमा ७ स्वर्ण, ५ रजत र २ कास्य गरी १४ पदक जित्दै तारा मावि विजयी भएको पालिकाको शिक्षा शाखाले जनाएको छ । बिजेता तारा माविलाई गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।

त्यस्तै प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजारले दोस्रो स्थान हाँसिल गरेको छ । ६ स्वर्ण, ७ रजत र ३ कास्य गरी १६ पदक जितेर सो विद्यालय दोस्रो हुन सफल भएको हो । त्यस्तै शक्ति माविले तेस्रो स्थान हात पारेको छ । ६ स्वर्ण १ रजत र १ कास्य गरी ८ पदक जितेर शक्ति तेस्रो बनेको पालिकाले जनाएको छ ।

नगरपालिका वडा नं १० स्थित खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिका भित्रका २१ वटा माध्यमिक तहका विद्यालयहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्