| सोमवार, साउन २४, २०८३

अन्तर बिद्यालय लिग फुटवल प्रतियोगितामा सात खेल सम्पन्न

गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा जारी गोरखा नगरपालिका अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शनिवार सात खेल सम्पन्न भएको छ । छात्रतर्फ चार र छात्रातर्फ तीन खेल सम्पन्न भएको आयोजक द ओसन क्लबले जनाएको छ ।

छात्रतर्फको पहिलो खेल द ओल्ड क्यापिटल मावि रानीवन र रत्नलक्ष्मी मावि डुम्रीडाँडाबीच भएको थियो । उक्त खेलमा ५–० को फराकिलो गोल अन्तरले ओल्ड क्यापिटल बिजयी भएको छ । लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजार र सरस्वती मावि आहालेबीच भएको दोस्रो खेलमा १–० को गोल अन्तरले लक्ष्मी सामुदायिक बिजयी बनेको छ ।

तेस्रो खेलमा महालक्ष्मी मावि लक्ष्मीबजार र हिल्ली फिल्डर्स गोरखा एफ सि बीच भएको थियो । खेल अवधिभर दुवै टिमको तर्फबाट ३–३ गोल भएपछि खेल बराबरीमा टुंगिएको थियो । शाक्ति मावि पाटेचौर र नवज्योती मावि डण्डिडाँडाबीच भएको चौथो खेलमा ३–० गोल अन्तरले शक्ति मावि बिजयी भएको आयोजकले जनाएको छ ।

छात्रातर्फको पहिलो खेल महालक्ष्मी मावि र रत्नलक्ष्मी माविबीच भएको थियो । उक्त खेलमा ५–० को गोल अन्तरले महालक्ष्मी मावि बिजयी बनेको छ । ओल्ड क्यापिटल मावि र लक्ष्मी सामुदायिक शिक्षा सदनबीच भएको दोस्रो खेलमा ६–० को गोल अन्तरले ओल्ड क्यापिटल बिजयी भएको छ । तेस्रो खेलमा सरस्वती माविलाई १–० को गोल अन्तरले पछि पार्दै हिल्ली फिल्डर्स गोरखा एफ सी बिजयी भएको आयोजक क्लबले जनाएको छ ।

साताको प्रत्येक शनिवार खेलहरु हुने गरेको छ । प्रतियोगितामा बिजेता र उपबिजेता टिमले ट्रफि र मेडलको साथमा प्रमाणपत्र पाउने छन् । बिजेता टिमले ओसन कप यू–१३ राष्ट्रिय फुटवल प्रतियोगितामा सहभागी हुने अवसर समेत पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्