
हाई अल्टिच्यूड फुटवल प्रतियोगिताको उपाधि सामा मनासलुलाई
मनासलु हिमालको फेदीमा हाई अल्टिच्यूड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित चुमनुब्री–२ स्यालामा सम्पन्न भएको सातौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको उपाधि सामा मनासलु फुटबल क्लवले उचालेको छ ।
बिहीवार भएको फाइनल खेलमा ल्हो पेमा सम्भवा ‘ए’ लाई १–० को गोल अन्तरले हराउँदै सामा मनासलु उपाधि बिजेता बनेको हो । उपाधि बिजेता उक्त क्लबले १ लाख ३० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको नुब्री मनासलु कपका उपाध्यक्ष लाक्पा दोर्जेले बताए । उपबिजेता बनेको ल्हो पेमा सम्भवा ‘ए’ ले नगद ६५ हजार पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको उनले जानकारी दिए ।
प्रोक फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल सामा युथ फुटबल क्लवले नगद ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार दिइएको छ ।
प्रतियोगितामा ल्हो पेमा सम्भवा ‘ए’ का उर्गेन लामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । सामा मनासलु फुटबल क्लवका पेमा नोर्बु प्रतियोगिता अवधिभर ६ गोल गरेर उत्कृष्ट गोलकर्ता बनेका छन् । सामा मनासलु फुटबल क्लवलका पासाङ नोर्कु लामा उत्कृष्ट गोलरक्षक घोषित भए । उनीहरुलाई नगद पुरस्कारको वितरण गरिएको थियो । ल्हो पेमा सम्भवा ‘बि’ फेयर टिम बन्दै नगद ६ हजार पुरस्कार हात पारेको छ ।
महिलातर्फको प्रतियोगिताको उपाधि स्याला ‘ए’ ले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा सामा गल्र्स एफसीलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै स्याला ‘ए’ बिजेता बनेको हो । महिलातर्फको उपाधि बिजेता र उपविजेता टिमले क्रमश १८ हजार र १० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ३ टिमले सहभागिता जनाएका थिए । बिजेताहरुलाई कपका संस्थापक सोनाम दोर्जे रिम्पोछेले पुरस्कार वितरण गरेका थिए ।
उत्तरी गोरखा हिमाली भेगका युवाहरु र स्थानीयहरुबीच एकआपसमा मेलमिलापको भावना जोगाउन लामा गुरु सोनाम दोर्जे रिम्पोछेले पहिलो पटक २०७३ सालबाट नुब्री मनास्लु कप फुटबल प्रतियोगिता संचालन गरेका थिए ।
सोही समयबाट निरन्तर प्रतियोगिता हुँदै आएको छ । प्रत्येक वडाले आलोपालो प्रतियोगिता गर्दै आएको बताइएको छ । आगामी बर्षको आठौँ श्रृंखला बिही फुटबल क्लवले आयोजना गर्ने भनिएको छ ।




