
दोस्रो वडा कपको उपाधी छेवेटार टोल विकासलाई
गोरखा नगरपालिका वडा नम्वर १० मा भएको दोस्रो वडा कप फुटवल प्रतियोगिताको उपाधी छेवेटार बजार टोल विकास संस्थाले जितेको छ । सोमवार छेवेटारस्थित खेलमैदानमा भएको फाइनल खेलमा समिचौर टोल विकास संस्थालाई ५–४ को गोल अन्तरले हराउँदै छेवेटार बजार टोल विकास संस्था उपाधी बिजेता बनेको हो ।
निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । उपाधी बिजेता टिमले ३५ हजार र उपविजेता टिमले १७ हजार नगद पुरस्कार पाएको वडाध्यक्ष प्रदिप कुँवरले बताए । प्रतियोगितामा अभिषेक तामाङ सर्वाेकृष्ट खेलाडी, केशर कोइराला सर्वाधिक गोलकर्ता र रोशन गैरे उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । उनीहरुले क्रमश २ हजार, २ हजार ५ सय र २ हजार नगद पुरस्कार दिइएको कुवँरले जानकारी दिए । वडा कार्यालयको आयोजनामा भएको प्रतियोगितामा वडाभित्रका आठ टोल विकास संस्थाहरुको सहभागीता रहेको थियो ।
सोही अवसरमा पुरुष र महिला तर्फ डोरी तान्ने प्रतियोगिता समेत भएको वडाध्यक्ष कुँवरले बताए । उनका अनुसार पुरुष तर्फको प्रतियोगितामा समिचौर टोल विकास संस्था पहिलो र छेवेटार बजार टोल विकास संस्था दोस्रो भएको छ ।
पहिलेले सात हजार र दोस्रो हुनेले तीन हजार नगद पुरस्कार पाएको बताइएको छ । महिला तर्फको प्रतियोगितामा भने साझाफेदी टोल विकास संस्था पहिलो र छेवेटार बजार टोल विकास संस्था दोस्रो बनेको छ । उनीहरुले क्रमश सात हजार र तीन हजार नगद पुरस्कार पाएका छन् ।




