| बुधबार, अशोज १३, २०८३

भारी हिमपातले लार्केपास बन्द हुँदा स्थानीयबासी, व्यवसायी र पर्यटक मर्कामा

प्रतीक्षा आले ।
गत बिहिबार, शुक्रबार र शनिबार परेको भारी हिमपातका कारण उत्तरी गोरखा र मनाङको सिमानामा रहेको लार्के पास पूर्ण रुपमा अवरुद्ध बनेको छ । ५,१०६ मिटर उचाइमा रहेको लार्केपास बन्द हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको चुमनुब्री गाउँपालिका १ साम्दोका होटल व्यवसायी निमा दोर्जे लामाले बताए ।

उनका अनुसार बर्खाको समयमा बाढी, पहिरोका कारण तल्लो भेगको बजारबाट दैनिक उपभोग्य सामान ढुवानी गर्न नसकेपछि मनाङको भिमथाङ बजारबाट लार्केपास हुँदै ल्याउने गरिन्छ । तर अहिले बाक्लो हिउँ जमेर बाटो मेटिएकाले लार्केपासबाट पनि मनाङ आवतजावत गर्न नसकिको हो ।

जसका कारण गोरखा जिल्लाको अन्तिम गाउँ सामागाउँ र साम्दोका बासिन्दालाई दैनिक उपभोग्य सामाग्री ढुवानीमा समस्या भएको छ । ‘यताबाट सामान लिन गएका खच्चडहरु मनाङमा अड्किएर बसेका छन् । उताबाट आएकाहरु यता रोकिएका छन्’, पूर्व वडा सदस्यसमेत रहेका निमा दोर्जेले भने, ‘अझैँ केही दिन बाटो नखुलाउने हो भने सामागाउँ, साम्दोमा खाद्यान्न अभावको स्थिति सिर्जना हुनसक्छ ।’

अहिले बाढी र पहिरोका कारण मनास्लु पदमार्गको विभिन्न ठाउँमा बाटो अवरुद्ध छ । बाढीले पदमार्गका पुलहरु बगाएका कारण घोडा, खच्चड आवतजावतमा रोक लगाइएको छ । स्थानीय र पर्यटकहरुका लागि अस्थायी काठेपुल बनाइएको छ ।
बाढी, पहिरोले पुल बगाएपछि सामागाउँ, साम्दोमा जिल्लाको तल्लो क्षेत्रबाट बर्खा महिनाभरि घोडा, खच्चड हिडाउन सकिएको छैन ।

यस बीचमा त्यहाँका स्थानीयहरु दैनिक उपभोग्य सामाग्रीका लागी मनाङको भीमथाङ बजारमा आश्रित हुने गर्छन् ।
हिमपातले लार्केपास अवरुद्ध बनाएपछि मनाङ आवतजावत पनि ठप्प बनेको चुमनुब्री गाउँपालिका १ का वडाअध्यक्ष कर्मा छेवाङ लामाले बताए । ‘मनास्लु पदमार्ग अवरुद्ध बनेपछि सामागाउँ, साम्दोमा खाद्यान्न ढुवानीको एउटै ठाउँ मनाङको थियो । त्यो पनि अहिले हिउँले बाटो अवरुद्ध बनेपछि समस्या भएको छ’, उनले भने ।

लार्के पास अवरुद्ध हुँदा मनास्लु–लार्के–चुम क्षेत्रको ट्रेकिङ रुट प्रभावित हुने स्थानीय निमा लामाको भनाइ छ । उनी भन्छन्, ‘अहिले पर्यटकको सिजन छ । लार्केपास गर्न आएका सयौं स्वदेशी, विदेशी पर्यटकहरु पास अवरुद्ध हुँदा सामागाउँ र साम्दोमा रोकिएका छन् । जसले गर्दा पर्यटक, पर्यटन व्यवसायी र यस्थानीय होटल व्यवसायी, गाइड र पोर्टरहरु मर्कामा परेका छन् ।’

लार्के पास खोलिदिन र सुरक्षित रुपमा सञ्चालनमा ल्याउने आफूहरुले टान, एमक्याप, गाउँपालिका र चुमनुब्री होटल व्यवसायी सँघलाई पत्र समेत पठाएको उनले जानकारी दिए । विगतका वर्षहरुमा पनि भारी हिमपातका कारण लार्केपास अवरुद्ध बनाको थियो । विगतमा स्थानीय युवाहरु मिलेर बाटो खुलाउँदै आएकोमा यो वर्ष त्यो सम्भव नरहेको साम्दोमा निमा दोर्जे लामाले बताए । ‘यो वर्ष एकदमै बाक्लो हिउँ जमेको छ, त्यो हामी स्थानीयले मात्र पन्छ्याएर सम्भव नै छैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्