
मिस्टर बि आठौँ गोर्खाली रनिङ कप आजदेखि
जिल्लाकै सर्वाधिक पुरस्कार राशीको गोर्खाली रनिङ कप फुलबल प्रतियोगिताको आठौ संस्करण आजदेखि सुरु हुदैछ । हरमटारी खेलमैदानमा हुने प्रतियोगिताका सबै तयारी पुरा भइसकेको आयोजक हरमटारी क्लबले जनाएको छ । यस बर्ष मिस्टर बि प्रालिले ‘टाइटल स्पोन्सर’ गरेकाले प्रतियोगिताको नाम ‘मिस्टर बि गोर्खाली रनिङ कप’ राखिएको छ ।
आज पहिलो दिन एक खेल मात्र हुने आयोजक क्लबका अध्यक्ष जीवन गुरुङले बताए । उनका अनुसार दिनको एक बजे सतिपिपल र दौतरी युवा क्लब चित्रेपोखरीबीच हुने छ । प्रतियोगितामा कुल १४ टिमले सहभागिता जनाएका छन् । क्लबले खेल तालिका समेत सार्वजनिक गरिसकेको छ ।
जस अन्तरगत समूह ‘क’ मा सतिपिपल क्लब, दौतरी युवा क्लब चित्रेपोखरी, अल स्टार एफसी आँबुखैरेनी, घैरुङ एफसी, आरुघाट गाँउपालिका, चाइनिजधारा फेमिली र खोप्लाङ एफसी रहेका छन् । यस्तै समूह ‘ख’ मा रिपुमर्दन गण गोरखा, भिमसेन तारा युवा क्लब, पृथ्वी युवा क्लब, त्रिवेणी युवा क्लब मुग्लिन, आरुमेल मुस्लिम युवा क्लब गोरखा, याङकोट युवा क्लब र आयोजक हरामटारी क्लब रहेका छन् ।
प्रतियोगिताको उपाधी बिजेता टिमले रनिङ कपको साथमा ३ लाख ३३ हजार ३३३ नगद पुरस्कार पाउने छन् । अघिल्लो बर्षको तुलनामा यो पुरस्कार राशी एक लाखले बढी हो । त्यस्तै उपबिजेता टिमले १ लाख ६६ हजार ६६६ नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबले जनाएको छ ।
प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई २० हजार नगद पुरस्कार दिइने बताइएको छ । त्यस्तै सर्वाेत्कृष्ट स्ट्राइकर, मिड फिल्डर, गोलरक्षक, डिफेन्डर र गोलकर्तालाई १० हजारका दरले पुरस्कार दिइने क्लबले जनाएको छ । प्रतियोगिता संचालनका लागी करिव २२ लाख लाग्ने अनुमान गरिएको छ ।




