
रेसे मेलामा निशुल्क प्याराग्लाइडिङ (फोटोफिचर)
धार्चे गाँउपालिका–५ सिङ्लास्थित रेसे खोलामा बुधबारदेखि सुरु भएको मेलामा निशुल्क प्याराग्लाइडिङको व्यवस्था गरिएको छ । गाउँपालिकाको पर्यटकीय स्थलको प्रचार प्रसारका लागी निशुल्क प्याराग्लाइडिङको व्यवस्था गरिएको मेला संयोजक राज गुरुङले बताए । प्याराग्लाइडिङका लागी पालिकाले नै बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

‘मेला अवलोकन गर्न आउने जो कोहीले इच्छा लागे प्याराग्लाइडिङ गर्न सक्छन्’ उनले भने, ‘यसको लागी पालिकाले नै बजेट दिएकाले उहाहरुसँग हामी पैसा लिदैनौ ।’ सिङ्ला गाँउको भिसि थमन सिंह पार्कमा निमार्ण गरिएको चेक अफ पोइनटबाट प्याराग्लाइडिङ उडान हुने र गुम्दा, लाप्राक, लप्सिवोट हुदै रेसे फाँटमा अवतरण हुने बताइएको छ ।

आयोजकका अनुसार पोखराको स्काइ राइडर प्याराग्लाइडिङ प्रा.लि का आठ जनाको टोलीले प्याराग्लाइडिङ उडान गराउने छन् । कुल सात वटा प्यारासुट मध्ये चार वटामा डवल र बाँकीमा सिङ्गल उडान गर्न मिल्ने गुरुङले बताए । रेसे सिङ्ला माघे सङक्रान्ति मेला मुल आयोजक समितिको आयोजनामा शुरु भएको मेलाको वुधवार एक कार्यक्रमका बीच पूर्व राज्य मन्त्री छम बहादुर गुरुङले उद्घाटन गरेका हुन् ।

गाँउपालिका अध्यक्ष लक्ष्मण गुरुङले उडान गरी प्याराग्लाइडिङको उद्घाटन समेत गरेका थिए । मेलामा खुल्ला पुरुष भलिवल प्रतियोगितासँगै स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।









