
भलिवल प्रतियोगिताको उपाधि खिम्पु अजिरकोटलाई
बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ भण्डारी गाउँमा भएको भलिबल प्रतियोगिताको उपाधि खिम्पु अजिरकोटले जितेको छ । तमु ल्होसारको अवसरमा मिलन युबा क्लबले प्रतियोगिता गरेको हो । उपाधि विजेता खिङ अजिरकोटले नगद २० हजार सहित मेडल र प्रमाणपत्र पाएको मिलन ढकालले बताए ।
प्रतियोगितामा मिलन युवा क्लव दोस्रो र बारमुले युवा क्लव तेस्रो भएको छ । उनीहरुलाई क्रमश १२ हजार र ८ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको बताइएको छ । प्रतियोगितामा कुल १९ टिमको सहभागीता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहेको थियो ।
आयोजक क्लबका अध्यक्ष सुनेम गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्ट, समाजसेवी अमित गुरुङ, गाउँपालिकाका माओवादी पार्टीका सचिव राजकुमार गुरुङ, जिल्ला समन्वय समितिका सदस्य मोहन ढकाल, उत्तरी गोरखाका तमु समाज(फुङ)का सचिव हरिमान गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
त्यस्त, धार्चे गाउँपालिका वडा नं ४ मा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । तमु ल्होसार मूल आयोजक समितिको आयोजनामा आइतवारबाट प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा पहिलो हुने टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समितिले जनाएको छ ।
त्यस्तै दोस्रो र तेस्रो हुने टिमले क्रमश ३५ हजार र २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । कार्यक्रमको अवसरमा छेलो फाल्ने र बाँस चढ्ने प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ । प्रतियोगिताका बिजेतालाई लोकल कुखुराको भाले प्रदान गरिने भनिएको छ । कार्यक्रमकै अवसरमा हुने नृत्य प्रतियोगिताका बिजेतालाई पनि नगद पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।




