
यु–१३ फुटवल प्रतियोगितामा पाँच खेल सम्पन्न
गोरखा नगरपालिका–९ दलभन्ज्याङमा जारी यु–१३ अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शनिवार पाँच खेल सम्पन्न भएका छन् । लक्ष्मी सामुदायिक शिक्षा सदन र रत्नराज्य मावि बीच भएको पहिलो खेलमा २–० गोल अन्तरले लक्ष्मी सामुदायिक बिजयी बनेको छ ।
दोस्रो खेल द ओल्ड क्यापिटल मावि र नवज्योती मावि बीच भएको आयोजक द ओसन क्लबले जनाएको छ । उक्त खेलमा ५–० को फराकिलो गोल अन्तरले ओल्ड क्यापिटल बिजयी भएको क्लबका सचिव सविन खत्रीले बताए । उनका अनुसार तेस्रो खेलमा सुर्यमुखी बोर्डिङ बिजयी भएको छ ।
उक्त बिद्यालयले मोर्डन बोर्डिङलाई ३–० गोल अन्तरले पराजित गरेको हो । सरस्वती मावि र रत्नलक्ष्मी मावि बीच भएको चौथो खेल भने १–१ गोलको बराबरीमा टुंगिएको थियो । रत्नराज्य मावि र नवज्योती मावि बीच भएको पाँचौ खेलमा २–१ को गोल अन्तरले रत्नराज्य मावि बिजयी बनेको आयोजक क्लबले जनाएको छ ।
‘गोरखा मेयर युवा फुटबल विकास परियोजना’ अन्तरगत क्लवले ९ औ ओसन कप यु–१३ अन्तर विद्यालय लिग संचालन गर्दै आएको छ । सो प्रतियोगितामा नगरपालिकाभित्रका नौ वटा विद्यालय सहभागि रहेका छन् । उनका अनुसार प्रतियोगिताका खेलहरु हरेक साताको शनिवार हुदै आएका छन् ।




