| शुक्रबार, मंसिर ११, २०८३

बूढीगण्डकी आयोजना निर्माणको तीब्र प्रतीक्षा

देशकै सबैभन्दा ठूलो र रणनीतिक महत्व बोकेको १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना बन्छ कि बन्दैन भन्ने प्रश्नले आम नागरिकदेखि प्रभावित क्षेत्रका बासिन्दासम्मलाई पिरोलिरहेको छ । आयोजना निर्माण सम्पन्न भइसक्नुपर्ने पूर्वनिर्धारित समयसीमा गुज्रिसक्दा पनि मुख्य संरचनाको शिलान्याससमेत हुन नसक्नु र लगानीको स्पष्ट खाका तयार नहुनु विडम्बनापूर्ण अवस्था हो ।

हालसम्म मुआब्जा वितरणलगायतका कार्यमा राज्यको करिब ७० अर्ब रुपैयाँ खर्च भइसकेको छ । मुआब्जा बुझेका हजारौँ घरधुरी थातथलो छाडेर काठमाडौं, चितवनलगायतका सहरमा बसाइँ सरिरहेका छन् भने आयोजना प्रभावित क्षेत्र वर्षौँदेखि विकास निर्माणका गतिविधिबाट वञ्चित छ । यति ठूलो लगानी र सामाजिक विस्थापन भइसक्दा पनि आयोजनाको भविष्य अन्योलमा रहनुले राज्यको नीतिगत अस्थिरता र कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।

करिब चार खर्ब रुपैयाँ अनुमानित लागत रहेको यो बृहत् आयोजनाका लागि वित्तीय स्रोत जुटाउनु निश्चय पनि चुनौतीपूर्ण छ । कहिले स्वदेशी लगानी त कहिले विदेशी कम्पनीलाई दिने जस्ता सरकारपिच्छे फेरिने निर्णयले आयोजनालाई राजनीतिक दाउपेचको सिकार बनाएको छ । यही अनिर्णयको बन्दी बनेका कारण आयोजना बन्नेमा सर्वसाधारणमा गहिरो शंका उत्पन्न हुनु स्वाभाविक हो । तर, हालै प्रवद्र्धक कम्पनीको कार्यालय तथा आवास भवनको शिलान्यास गरिनुले केही सकारात्मक संकेत भने दिएको छ । ढिलै भए पनि प्रशासनिक र भौतिक पूर्वाधारको सुरुवातले निराशाबीच आशाको सानो किरण जगाएको छ ।

अर्बौँ रुपैयाँ मुआब्जामा खर्च भइसकेको पृष्ठभूमिमा अब आयोजनाबाट पछि हट्ने वा थप ढिलासुस्ती गर्ने छुट सरकारलाई छैन । सरकारले तत्काल राजनीतिक सहमति जुटाई आयोजना निर्माणको स्पष्ट मोडालिटी र वित्तीय स्रोतको सुनिश्चितता गर्नुपर्छ । प्रभावित क्षेत्रका बासिन्दाको त्याग र राज्यको ७० अर्ब लगानीलाई खेर जान नदिन मुख्य बाँध तथा विद्युतगृह निर्माणको प्रक्रिया यथाशीघ्र अघि बढाउनु आजको प्रमुख आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्