
गोरखा अस्पतालमा आईसियू सेवा सुरु
जिल्ला सदरमुकाममा रहेर सेवा दिइरहेको प्रदेश अस्पताल गोरखामा सघन उपचार कक्ष(आईसियू) सेवा सुरु भएको छ । जटिल प्रकृतिका बिरामीलाई सघन कक्षमा राखेर उपचार सेवा प्रदान गर्न बिहिबारदेखि आइसियू कक्ष सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष कृष्ण ढकालले जानकारी दिए ।
जटिल प्रकृतिका विरामीको आवश्यकतालाई मध्यनजर गरी मेडिसिन आइसियू सेवा(एमआईसियू) सुरु गरेको अस्पताल विकास समितिका अध्यक्ष कृष्ण ढकालले जानकारी दिए । अब आईसियू सेवा लिनु पर्ने बिरामीले जिल्ला बाहिर जानु नपर्ने उनको भनाइ छ ।
‘अस्पतालको सेवा वृद्धि गर्दै जाने क्रममा आजदेखि हामीले पाँच शैयाको मेडिसिन आईसियू सेवा सुरु गरेका छौँ’, अध्यक्ष ढकालले भने, ‘अब निमोनिया, दम, म्यानेन्जाइटिशजस्ता जटिल समस्या भएका विरामीलाई पनि हामी गोरखा अस्पतालमै राखेर सेवा दिन सक्छौँ । अब आईसियू सेवाका लागि जिल्ला बाहिर जानु पर्दैन ।’ विगत चारबर्ष अघिदेखि नै सर्जिकल आईसियू सेवा पनि सञ्चालन गरिरहेको उनले बताए ।
अस्पतालले यसअघि २०७९ साल चैतदेखि सर्जिकल आईसियू सेवा गरिरहेको छ भने एचडियू सेवा पनि सञ्चालन गरिरहेको अध्यक्ष ढकालले जानकारी दिए । उनका अनुसार गत कात्तिक महिनादेखि नाक, कान, घाँटी(ईएनटी) सेवा पनि सुरु भएको छ ।
केही महिनाअघि मात्र इन्डोस्कोपी सेवा सुरु गरेको यस अस्पतालले डाइलासिस सेवा पनि सञ्चालन गरेको मेडिकल सुपरिटेण्डेण्ट शम्भु अधिकारीले जानकारी दिए ।
बिरामीको चापलाई मध्यनजर गरी अस्पतालले दुईवटा फार्मेसी सेवा सञ्चालन गरेको छ । ५० शैयामा सञ्चालित प्रदेश अस्पताल गोरखाले निरन्तर सेवा विस्तार गरिरहेको छ । मेसु अधिकारीका अनुसार यहाँ प्रतिबर्ष सरदर एकलाख १५ हजार बिरामीलाई परीक्षण तथा उपचार सेवा गर्ने गरिएको छ ।




