
बूढीगण्डकी बाढी : न अन्नको मानो, न ओत लाग्ने छानो
विकास मरहट्टा ।
चाडबाडका बेला बिल्लीबाठ
काखमा १६ महिनाको बच्चा च्यापेर चुमनुब्री ३ सल्लेरीकी कमला गुरुङ सोमवार आरुघाट आइपुगिन् । नेपाली सेनाको हेलिकोप्टरले उद्धार त ग¥यो तर उनको न गाँसको टुंगो छ न बासको । बूढीगण्डकी बाढीले घरसँगै सबै कुरा बगाएपछि उनी बिचल्लीमा परेकी छन् । शरीरमा लगाएको एक सरो लुगाबाहेक उनीसँग बाँकी केही छैन । ‘लुगाफाटादेखि सबै कुरा बाढीले बगायो,’ पीडा पोख्दै उनले भनिन्, ‘अब के खाने कहाँ बस्ने केही टुंगो छैन ।’
सल्लेरीकै सुन्दर गुरुङको पीडा पनि उनको भन्दा कम्ती छैन । मुश्किलले ज्यानसम्म जोगाएका उनको पनि बाढीले सर्वस्व लुट्यो । ‘मान्छे परिएन तर अरु केही बाँकी रहेन, सबै सोहोरेर लग्यो,’ उनले भने । बाढी आउँदा उनी निद्रामै थिए । एक्कासी ठुलो आवाज सुनेपछि भागेर घरभन्दा थोरै माथि के पुगेका थिए आँखै अगाडि बाढीले उनको घर बगायो । ‘घरभित्रको केही सामान निकाल्न पाइएन, यो लगाएको कपडा पनि अरुसँग मागेको हुुँ,’ उनले भने । दैनिक गुजारा चल्ने उपाय नदेखेपछि उनी परिवारसहित गाउँ छाडेर आएका छन् । कामको खोजीमा राजधानी छिर्ने भन्दै उनी सोमवार आरुघाट आइपुगेका थिए । ‘गाउँमा बसेर पनि केही छैन, भएको सबै बगायो,’ उनले भने, ‘तत्काल बाटो खुल्ने अवस्था पनि छैन । खानलाई समस्या हुने देखियो त्यसैले गरिखाने ठाउँ खोज्न काठमाडौ जान लागेको ।’
उनीहरुको जस्तै पीडा धेरैको छ । बिशेष गरी सल्लेरी, पैंयु, बगर, जगत, माछिखोला, आरुघाटको शान्तिबजार, सोती लगायतका स्थानीय बाढीबाट बढी प्रभावित छन् । सो क्षेत्रका एक सयभन्दा बढी घरहरु पूर्ण रुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चाडवाडको समयमा उनीहरुको गाँस र बास दुवै खोसिएको छ । घरवारविहीन भएकाहरु आफन्त र छिमेकीकोमा शरण लिएर बसेका छन् । बिकल्प नहुनेहरु धमाधम गाउँ छाड्दै छन् । राहत र पुनस्र्थापनामा जोड दिन उनीहरुको माग गरेका छन् ।
टुट्यो उत्तरी गोरखासँगको सम्पर्क
बाढीले उत्तरी गोरखासँगको सम्पर्क टुटाएको छ । पदमार्गमा क्षति पुगेपछि चुम उपत्यकाको सम्पर्क टुटेको प्रशासनले जनाएको छ । पदमार्गमा रहेका पुलहरु बगेका छन् । दुई वटा पक्की मोटरेवल पुलसहित १० वटा पुल बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘सोतीबाट मान्वु जोड्ने र आरुघाटबाट धादिङ जोड्ने दुई वटा पक्की मोटरेवल पुल बगायो,’ डिएसपी राजकुमार श्रेष्ठले भने, ‘धार्चे गाउँपालिका–१ दोभानबाट उहिया जोड्ने बेलिब्रिज र केही झोलुङ्गे पुल पनि बगेका छन् ।’ उनका अनुसार चुमनुव्री गाउँपालिका–३ नाग्चेतबाट सिर्दिवास, माछिखोलाबाट केरौजा, दोभानबाट हुल्चुक, लोक्पाबाट गुमलुङ जाने झोलुङ्गे पुल बगाएको छ । त्यस्तै पैंयु र ठाडोभ¥याङमा रहेको झोलुङ्गे पुलसँगै चुमनुव्री गाउँपालिका–६ लोक्पाबाट गुमलुङ जाने क्यान्टिलिभर पुलमा समेत क्षति पुगेको उनले जानकारी दिए । पदमार्गसँगै पुलहरुमा क्षति पुगेपछि सो क्षेत्रसँगको सम्पर्क टुटेको उनको भनाइ छ ।
चुम उपत्यकाको पदयात्रामा रोक
चुमउपत्यकाको पदयात्रामा रोक लगाइएको छ । आइतवारको बाढीले क्यान्टिलिभर पुलदेखि बिभिन्न स्थानको पदमार्गमा समेत क्षति पु¥याएकाले अस्थायी रुपमा पदयात्रामा रोक लगाइएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ । चुमनुब्री–६ लोक्पास्थित सार्दीभिरमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि छेकम्पार जाने पदमार्ग अवरुद्ध बनेको हो ।
धार्चे गाउँपालिकाको माछाखोलादेखि चुमनुब्रीको जगतसम्मको बाटोका धेरै स्थानमा पदमार्ग क्षतिग्रस्त बनेको एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले बताए । सामागाउँ जान चाहने पदयात्री भने हेलिकप्टरबाट सिधै फिलिमसम्म जान सक्ने उनले जानकारी दिए । ओझाका अनुसार फिलिमदेखि लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित अवस्थामा छ । तर, माछाखोलादेखि जगतसम्म र सल्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ । आयोजनाले क्षतिग्रस्त पदमार्ग पुनर्निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।
पदमार्ग खुलाउन आग्रह
बाढीसँगै गएको पहिरोले अवरुद्ध पदमार्ग खुलाउन उत्तरी गोरखाका स्थानीयले माग गरेका छन् । अन्यथा खाद्य संकट हुन सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । ‘माथि खाद्यान्न छैन, खच्चडले तलबाट बोकेर ल्याउने हो,’ चुम्चेतका शेराप गुरुङले भने, ‘बाटो बन्द भएकाले खाद्यान्न ल्याउन सकिएको छैन, भोकमरी लाग्ला भन्ने चिन्ता छ ।’ पदमार्ग मर्मत गरेर खच्चडबाट खाद्यान्न ढुवानी गर्ने व्यवस्था मिलाईदिन उनले सरकारसँग आग्रह गरेका छन् ।
उद्धारसँगै राहतपनि
बाढीसँगै आएको पहिरोमा परी पाँच जना सम्पर्कविहीन छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार उनीहरुको खोजी कार्य भइरहेको छ । बाढीमा फसेकाहरुको उद्धारसँगै राहत वितरणको काम पनि भइरहेको उनले जानकारी दिए । ‘हालसम्म करिव चार सय जनाको उद्धार गरिसक्यौ,’ उनले भने, ‘उद्धारमा नेपाली सेनाको तीन वटा हेलिकप्टर प्रयोग भएको छ ।’ सँगै राहत वितरणको काम पनि भइरहेको उनले बताए । त्रिपाल, खाद्यान्न, औषधी, लाइट, सोलार, जेनेरेटर, लत्ताकपडा लगायतका राहत सामाग्री हेलिमार्फत प्रभावित क्षेत्रमा पठाइएको र एकद्धार प्रणालीबाट वितरण गरिएको उनको भनाइ छ ।




