| बिहिबार, अशोज २८, २०८३

क्यान्टिलिभर पुलको नाम निशानै मेटियो, चुमबासी नाकाबन्दीमा

चुम उपत्यकास्थित लोक्पाका होटल व्यवसायी सेराप गुरुङले मंगलबार डोरीमा झुण्डिएर सर्दीभीर आउजाउ गरेको पुरानो फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखे, ‘भूकम्पपछि साथीहरूसँग पैदल बाटो खोज्दै यसरी नै भीरमा हिँडेको त्यो दुःखद क्षण आज पनि सम्झनामा ताजै छ । तर विडम्बना, अहिले फेरि उही परिस्थिति दोहोरिएको छ । कहिलेसम्म हामीले यस्तै कठिनाइ भोगिरहनुपर्ने हो ? दुर्गम क्षेत्रका नागरिकको सुरक्षित आवागमनका लागि दीर्घकालीन समाधान खोज्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण होस् ।

गाउँपालिकाको केन्द्र, सदरमुकाम अथवा सहरी क्षेत्र आउजाउ गर्न चुम उपत्यकाबासीले प्रयोग गर्ने मुख्य आधार बनेर रहेको सर्दिभीरको क्याण्टिलिभर पुलको अहिले नाम निशाना मेटिएको छ । चुमनुब्री ६ स्थित करिब तीनसय मिटर लामो सो पुल गत आइतबार बूढीगण्डकीको सहायक नदी स्यार खोलामा आएको भिषण बाढीले पुल कहाँ थियो भन्नेसमेत थाहा नहुने गरी बगाएको स्थानीय सेराप गुरुङले जानकारी दिए ।

गत आइतबार उङ्गिलुङ खोलामा आएको पहिरोपछि स्यार खोला थुनिएर आएको बाढीले पुल बगाएको उनले बताए ।
क्याण्टिलिभर पुल बगाएपछि चुमनुब्री गाउँपालिकाको वडा नं. ६ र ७ का करिब एकहजार पाँचसयभन्दा धेरै स्थानीयबासी समस्यामा परेका वडा नं. ६ का कार्यवाहक वडाअध्यक्ष ठिले ग्याम्जो लामा बताउँछन् ।

‘एकसयभन्दा धेरै विदेशी पर्यटक वडा नं. ६ र वडा नं.७ मा आएका छन् । उनीहरु कसैको भिसा सकिन लागेको छ, कसैको खर्च सकिन लागेको छ । उनीहरु फर्कन पाएनन्’, उनी भन्छन्, ‘सहरमा पढ्न र काम गर्न गएकाहरु दशैं विदामा घर फर्केका छन्, तर पुल नभएर बाटोमै अलपत्र परेर बसेका छन् । अब यो समस्या कसरी समाधान हुन्छ ?’ भीरमा डोरी टाँगेर झुण्डिर आवतजावत गर्नुपर्ने बाध्यता आइपरेको उनी बताउँछन् ।

यो तत्कालको समस्या हो । त्यहाँ क्याण्टिलिभर नहुँदा दीर्घकालीन समस्या समेत पर्ने अर्का स्थानीय सेराप गुरुङ बताउँछन् । ‘तिब्बत नाका बर्षमा एकफेर मात्र खुल्छ । तलको सहरी क्षेत्र झर्नका लागि क्याण्टिलिभर पुल छैन’, उनी भन्छन्, ‘चुम उपत्यका नाकाबन्दी भएको छ । खाद्यान्न अभाव नजिकिँदैछ ।’ यहाँ क्याण्टिलिभर पुलको अर्को विकल्प नभएको उनको दावी छ ।
सर्दीभीरमा पाइला राख्ने ठाउँ नहुँदा २०७२ सालको भूकम्पअघि स्थानीयबासी भीरमा डोरी टाँगेर झुण्डिएर आवतजावत गर्ने गर्दथे ।

भूकम्पपछि आएको बेलायतको दातृ संस्था युकेएड(डिएफआईडी)को आर्थिक सहयोगमा तीन करोड ४० लाख लगानी गरी २४६ मिटर लामो पुल बनाइएको हो । क्याण्टिलिभर पुल बनेपछि चुमभ्यालीका चुम्चेत तथा छेकम्पारका बासिन्दा सिर्दिबास तथा तल्लो भेगमा आवत जावत गर्न सहज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्