
अशान्त शान्तिबजार
प्रतीक्षा आले ।
बूढीगण्डकी बाढीका कारण विस्थापित बनेका जिल्लाको आरुघाट गाउँपालिका–५ शान्तिबजार यतिबेला अशान्त छ । आइतबार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले शान्तिबजारलाई अशान्त बनाएको हो ।
आँखैअघि बस्तीका ४६ घरहरु बाढीमा विलिन भएका स्थानीय टकमाया आले बताउँछिन् । ‘हेर्दा, हेर्दै बाढी बस्तीमा पस्यो । आँखैअघि हाम्रो सबै जायजेथा पुरियो’, उनले भनिन्, ‘माथितिरकाले बिहान साढे ५ बजेतिर बाढी आउँदैछ भनेर फोन गरे । त्यही अनुसार हामी भाग्ने सुरमा थियौँ । एक्कासी हाम्रो जमिन हल्लियो, डरलाग्दो आवाजसँगै बाढी पनि आयो । बाढीले सबै लग्यो ।’
गाउँमा बाढी पसेपछि शान्तिबजारको ३५ घरधुरीका १३६ जना पूर्ण रुपमा विस्थापित भएका छन् । बाँकी पहिले नै बसाइँ सराइ गरेर शहर पसेका त्यहाँका वडाअध्यक्ष रामजी खड्काले बताए । खड्काका अनुसार बाढीबाट विस्थापित हुनेमा ५ वर्षमुनिका आठजना बालबालिकाहरु छन् ।
बाढी पीडित शान्तिबजारका बासिन्दाहरु नजिकैको छरछिमेकी र आफन्तहरुको घरमा आश्रित छन् । चाडपर्व नजिएका बेला के गर्ने, कहाँ जाने भन्ने दुविधा उनीहरुमा छ । बस्तीबाट केही माथि मुलमाया घलेको घर छ । दुई कोठे मुलमायाको घरमा ५ परिवारका १९ जना आश्रित छन् ।
केही बिस्थापित परिवारहरु भने ओतको जोहो गरिरहेका छन् । बस्तीबाट केही माथि खेतमा लहलह झुलिरहेका धान काटेर त्यहाँ टेन्ट लगाउने तयारीमा छन् उनीहरु । रेडक्रसले दिएको २५ थान टेन्ट त्यहाँ टांगिदैछ । शान्तिबजारको यसवर्षको दशैँ त्रिपालमुनि बित्ने स्थानीय मरियम घले बताउँछिन् । उनी त्यहाँ आफ्ना चारजना दाई र हजुरआमासँग बस्दै आएकी थिइन् । बाढीले मरियमको पनि सर्वस्व लग्यो । ‘ज्यानमा लगाएको एकसरो कपडा बाहेक केही छैन्, यो वर्ष एसईई दिने तयारीमा छु । बाढीले किताव कापी सबै लगेको छ’, उनले भनिन्, ‘बुढी हजुरआमा मात्र हुनुहुन्छ, बुबाआमा छैनन् । दाईहरु पनि भर्खर पढ्दै छन् । अब कसरी पैसा कमाउने, कहाँ बस्ने केही थाहा छैन् ।’
हाल उनीहरुको ६ सदस्यले स्थानीय आफन्तीको घरमा आश्रय लिइरहेका छन् । बाढीले शान्तिबजारका ५ वर्षिय बालक सुप्रिम सुनारमो मानसिकतामा पनि गहिरो चोट पु¥याएको छ । त्यसैले बाढी आएदेखि उनले आफ्ना बुवा सानु सुनारलाई छाडेकै छैनन् । ‘यस्ले डराएर मलाई एकछिन पनि छोडेको छैन् । म अब राहत बुझ्न, घरको व्यवस्था मिलाउन हिडिरहेको हुन्छु । यो पनि पछि, पछि लागिरहन्छ’, सुप्रिमका बुवा सानुले भने ।
आरुघाट गाउँपालिका, स्थानीय वडा कार्यालय र विभिन्न संघसंस्थाहरु मिलेर शान्तिबजारबासीलाई खानाको जोहो गरिदिएका छन् । बाढीबाट बिस्थापित बस्तीका १३६ जना हाल सामूहिक रुपमा खाना खाइरहेका छन् । बाढी गए लगत्तै त्यहाँ थुप्रै राहत सामाग्रीहरु पुगेका छन् । तर, ती सामाग्री राख्ने ठाउँ भने नरहेको अर्का स्थानीय पुर्णबहादुर आलेले बताए । उनी भन्छन्, ‘सामान त आयो तर राख्ने ठाउँ छैन् । यहाँ बाढीले आफ्नै बस्ने ठेगान नभएको बेला त्यो सामान मात्र कहाँ लगेर राख्नु ?’ बाढीका कारण पूर्णबहादुको ९ सदस्ययीय परिवार पनि पूर्ण रुपमा बिस्थापित भएका छन् ।
बाढी गएदेखि गुल्जार शान्तिबजारको शान्ति भंग भएको छ । चाडको मुखैमा थातथलो छाडेर बालबालिका, बृद्धबृद्धाहरु तितरबितर हुनुपरेको छ । बाढीका कारण बस्तीमा रहेका सयौँ पशुचौपाया बूढीगण्डकीले ल्याएको कालो दबदबेभित्र दबिएका छन् । सयौँ मिटर परसम्म फैलिएको त्यो दबदबेमा केही हाँस, कुखुरा र गाइबस्तु भने उद्धारको पर्खाइमा रोईरहेका छन् । शान्तिबजारका बासिन्दा यो हृदयबिदारक दृश्य हेर्न बाध्य छन् ।




