
शवगृहको क्षमता बढाउनु आवश्यक
त्रिशुली बाढी पीडित जिल्ला तथा आसपासका जिल्लामा अहिले बाढीले बगाएका शव राख्ने ठाउँको अभाव छ । अस्पतालहरुमा निर्माण गरिएको सीमित क्षमताको शवगृहमा शव नअटेर वाह्य जिल्लाहरुमा पठाउनु परिरहेको छ । गोरखाको भूभागमा भेटिएका शवहरूलाई शवगृहको अभावका कारण पोखरा पठाउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।
स्थानीय गोरखा अस्पतालको शवगृहमा सग्ला शवका सट्टा शरीरका टुक्राहरू—टाउको, हात, खुट्टा वा औँला मात्र बाँकी रहेका मुर्कट्टाहरू मात्रै खाँदेर राख्नुपरेको खबरले हृदयविदारक दृश्य प्रस्तुत गर्छ । जम्मा दुई जना क्षमता भएको र सामान्यतया पाँच वटासम्म शव राखिँदै आइएको अस्पतालमा अहिले ५५ वटा शव तथा शवका टुक्राहरू कोच्नुपर्ने वाध्यात्मक अवस्था छ ।
क्षमताभन्दा कैयौँ गुणा बढी र अव्यवस्थित ढंगले शव राखिँदा फैलिएको असह्य दुर्गन्धले आसपासको वातावरणीय स्वच्छता र जनस्वास्थ्यमाथि नै गम्भीर खतरा पैदा गरेको छ । यही परिस्थितिले गर्दा शवको सनाखत नभैकन शनिबार केही शवहरूको सामूहिक अन्त्येष्टि गर्नुपर्ने अवस्था आउनु हाम्रो पूर्वाधारगत लाचारीको उपज हो ।
नेपाल प्राकृतिक विपत्तिका हिसाबले अत्यन्तै जोखिमयुक्त मुलुक हो । गोरखा आफैँमा कहिले विनाशकारी भूकम्पको केन्द्रविन्दु बन्छ भने कहिले बाढी, पहिरो जस्ता अकल्पनीय प्राकृतिक विपत्तिहरूको मारमा परिरहन्छ । विपद् बाजा बजाएर आउँदैन, तर विपद्पछिको व्यवस्थापन र तयारी भने सरकार तथा सरोकारवालाको दूरदर्शितामा निर्भर हुन्छ ।
सङ्कटको घडीमा ज्यान गुमाएकाहरूप्रति न्यूनतम मानवीय सम्मान प्रकट गर्नु र तिनको शव सुरक्षित व्यवस्थापन गर्नु राज्यको आधारभूत दायित्व हो । वर्तमानको यो विकराल अवस्थाबाट पाठ सिक्दै भविष्यका सम्भावित सङ्कटको अनुमान गरेर अघि बढ्नु नै बुद्धिमानी हुनेछ । आधुनिक प्रविधिसहितको पर्याप्त क्षमताको शवगृह निर्माणले विपद्का समयमा शवको पहिचान, परीक्षण र सुरक्षालाई सहज बनाउनुका साथै दुर्गन्ध र महामारीको जोखिमबाट स्थानीय समुदायलाई बचाउनेछ ।
तसर्थ, गोरखा अस्पतालको शवगृहको तत्काल स्तरोन्नति गर्दै भविष्यको जोखिम धान्न सक्ने गरी व्यवस्थित पूर्वाधार निर्माणमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको ध्यान जानु आवश्यक छ ।




