
उत्तरी गोरखालाई उपेक्षा नगरौँ
उत्तरी गोरखा भौगोलिक हिसावले मात्र ठगिएको छैन, राज्यले दिने सेवा सुविधाको पहुँचबाट पनि टाढै छ । एक त सडक सञ्जालले बल्लतल्ल पालिका छोएको छ, अर्का तर्फ पैदमार्गको यात्रा जोखिमपूर्ण छ । शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा स्थानीयको पहुँच बिरलै पुग्छ । भौगोलिक हिसावले ठगिएको यस क्षेत्र राज्यबाटै उपेक्षित छ ।
राज्यबाट उपलब्ध हुने सेवा सुविधा सहज रुपमा उपभोग गर्न यस क्षेत्रका स्थानीयलाई मुश्किल नै छ । कतिपय स्थानीयले आफ्नो जिवनभर त्यो सेवा उपभोग गर्न नपाएका उदाहरण पनि छन् । निर्माण भएका पूर्वाधारहरुमा समस्या देखिएमा मर्मत तर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनै समय लाग्छ ।
उनीहरुको वेवास्ताकै कारण सो क्षेत्रका स्थानीयले अनावश्यक दुख झेल्नुपर्छ । संचार क्षेत्र होस् वा आउजाउमा पदमार्गमा भोग्नुपर्ने सास्ती, यी समस्याबाट यहाँका स्थानीयले कहिले छुटकारा पाउने ? पहिरोको जोखिमको पदमार्ग स्तरोन्नती गर्नु पनि उत्तिकै आवश्यक छ । हुन त अघिल्ला समयभन्दा अहिले केही सुधारउन्मुख छन् ।
कछुवा गतिमै भएपनि त्यस क्षेत्रमा बिकासका पूर्वाधारहरु बन्ने क्रम जारी छ । चीनको सिमा नाकासम्म सडक सञ्जाल जोड्ने कामले निरन्तरता पाइरहेकै छ । सडक सञ्जालसँगै अन्य बिकासका पूर्वाधारहरु निर्माण हुनेछन् भन्नेमा दुई मत छैन । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ ।
तर त्यस क्षेत्रका स्थानीयले पाउने सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन राज्य अग्रसर हुनुपर्छ । सबै नागरिकलाई समान व्यवहार राज्यले गर्नुपर्छ । बिकासे योजनाका लागि बजेट विनियोजन गर्न प्रदेश र संघले कन्ज्यूँस्याई गर्नु हुदैँन ।




