| बिहिबार, बैशाख ९, २०८३

मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड हुने

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद बिकास समिति गोरखाको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक सहयोगमा बैशाख १४ गते प्रतियोगिता हुन लागेको हो ।

वुधवार पत्रकार सम्मेलन मार्फत समितिले महिला र पुरुषतर्फको छुट्टाछुट्टै प्रतियोगिता हुने जानकारी गराएको हो । प्रदेश स्तरीय उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट मात्र सहभागी हुन पाउने समिति अध्यक्ष प्रेम तामाङले बताए ।
‘फरक फरक दुरीमा तीन वटा छुट्टाछुट्टै दौड प्रतियोगिता हुन्छ,’ उनले भने, ‘प्रत्येक प्रतियोगितामा गण्डकी प्रदेशभित्रका ११ जिल्लाबाट एक जना पुरुष र एक जना महिलाका दरले सहभागी हुन पाउँछन् ।’ महिला र पुरुषहरुको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने उनले जानकारी दिए ।

मनकामनादेखि गोरखा दरवारसम्मको ४२.१९५ किलोमिटर दौडमा प्रथम हुनेले (महिला र पुरुषतर्फ दुवै) ५५ हजार, द्धितियले ३० हजार, तृतीयले २० हजार र सान्त्वना हुने दुई जनाले ५ हजारका दरले नगद पुरस्कार पाउने बताइएको छ । उक्त दौड मनकामना मन्दिरदेखि ताक्लुङ–तीनमाने–घैरुङ–नाम्जुङ–काउलेभंगार–बुंकोट–ढुङ्गागाढे–आहाले भञ्ज्याङ–बराह मन्दिर–हस्पिटल चोक–हरमटारी –बसपार्क–विपी चौतारा–ठुलोआँगन–सतिपिपल–गैरीकुवा–हनुमानथान (गोरखाकाली मन्दिर) पुगेर टुङ्गिनेछ ।

यसैगरि मनकामनादेखि तीनमाने सम्मको १० किलोमिटर दौडमा प्रथम, द्धितिय र तृतीय हुनेले (महिला र पुरुष दुवैतर्फ) क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष तामाङले बताए । मनकामनादेखि जुम्ली चौतारासम्मको ५ किलोमिटर दौडमा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमशः १५ हजार, ७ हजार ५ सय र ५ हजार नगद पुरस्कार पाउने उनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा बिभागिय टिमले भने सहभागी हुन पाउने छैनन् ।

खेल क्षेत्र मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको तामाङले बताए । प्रतियोगितामा सहभागीहरुलाई यातायातसहित खान र बस्ने व्यवस्था आयोजकले गर्ने बताइएको छ । प्रतियोगिताका बिजेताहरुले दशौ राष्ट्रिय खेलमा सहभागी हुन पाउने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्