गोरखा दरबारको फोहर फाल्न प्रधानमन्त्री गुहार
प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा परिचित गोरखा दरवार क्षेत्रमा लामो समयदेखि फोहरको डंगुर थुप्रिएकाले सरसफाइको प्रवन्ध मिलाउन भन्दै हेल्लो सरकारमा उजूरी परेको छ । ऋचा प्रधानले गोरखा दरवार आसपास फोहरको डंगुर लागेको तस्विर सहित हेल्लो सरकारमा उजूरी दिएकी हुन् । प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहत रहेको हेल्लो सरकारले सो समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्रशासन कार्यालयले भने नगर क्षेत्रको सरसफाइको दायित्व नगर पालिका कार्यालयको रहेको भन्दै उजूरीको ब्यहोरा सहितको विवरण गोरखा नगरपालिका कार्यालय लाई पठाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गौतम भण्डारीले जानकारी दिए । गोरखा दरवार क्षेत्रको फोहरको उचित ब्यवस्थापन हुन नसकेको गुनासो पटक पटक आउने गरेको छ ।




