च्याङ्लीमा पनि प्रहरी चौकी
दरौंदी ः पालुङटार नगरपालिका ७ च्याङ्ली विरुवाटारमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थानीयको माग र आबश्यकताका आधारमा विरुवाटारमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए । अस्थायी प्रहरी चौकीमा हाल असई मदन ढकालको नेतृत्वमा ५ जना प्रहरी छन् । गोरखा र तनहूँ जिल्लाको सिमानामा पर्ने विरुवाटारमा प्रहरी भए पनि प्रहरी चौकी नहुँदा समस्या भएको भन्दै स्थानीयले चौकी राख्न माग गर्दै आएका थिए । शान्तिसुरक्षाका हिसाबले च्याङली, धुँवाकोट र गाईखुर संवदेनशील भएकाले साविकका ३ गाविसलाई लक्ष्यित गर्दै अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । स्थानीय नवीनकुमार श्रेष्ठको घरमा पालुङटार नगरपालिकाले मासिक ५ हजार ८ सय रुपैया भाडा तिर्ने गरी प्रहरी पोष्ट राखिएको गरपालिकाकी उपप्रमुख पम्फा बसेलले बताइन् ।




