| आइतवार, कार्तिक २९, २०८३

बुधबार लगाइयो दशैंको टिको

दरौंदी ः यो सालको पात्रो अनुसार कात्तिक दुई गते विजयादशमी परेपनि गोरखाका केहि ठाउँमा भने बुधबारैदशैको टिका लगाईएको छ । भदौ शुक्ल प्रतिपदाका दिन भदौ २५ गते घटस्थापना गरि जमरा राखे का पर्व सुधारका अभियन्ताहरुले बुधबार टिका लगाएका हुन् । जिल्लाको पालुङटार नगरपालीका, सिरानचोक गाउँ पालीका लगायतका ठाउँका विभिन्न विद्यालय तथा टोलमा सामुहिक रुपमा मान्यजनबाट दशैको टिका जमरा लगाईएको हो । पालुङटार नगरपालिकाको पृथ्वी प्राथमिक विद्यालय, सिरानचोक गाउँपालिका को वडा नं ४ र ५ का सर्वोदय आधारभुत विद्यालय, धर्मावती माध्यामिक विद्यालय , जनज्योती आधारभुत विद्यालय, नाम्रुङ आधारभुत विद्यालय, चित्रेपोखरी माध्यामिक विद्यालय र भद्रशिला प्राथमिक विद्यालयमा विद्यालय ब्यबस्थापन समिति, शिक्षक र विद्यार्थीहरुले टिका जमरा लगाएर दशै मनाएका छन् ।
सिरानचोक गाउँपालिकाकै नेवा गुठी छोप्राक मैदान, राधाकृष्ण टोलसुधार, फौदरगाउँ, पात्ले गाउँमा पनि दशैको टिका जमरा लगाएको सर्वोदय आधारभुत विद्यालयका भरत देवकोटाले बताउनुभयो । बुधबार दशैको टिका लगाउन उनिहरुले स्थानिय मन्दिरहरुमा जमरा राखेका थिए । कार्यान्वयनमा रहेको पात्रोलाई समयानुकूल परिमार्जन गर्नुपर्ने भन्दै अहिले दशैं मनाएको उनिहरुले बताएका छन् । विगत लामो समय देखि पर्व सुधारको अभियानमा लाग्दै आएका इञ्जिनियर हरि मल्लको अगुवाइमा ६ वर्षदेखि गोरखाका विभिन्न ठाउँका बासिन्दाले बर्से्नि सामूहिक रुपमा भेला भएर विजया दशमी आउनु एक महिना अघि नै दशैं मनाउँदै आएका हुन् । हिन्दु नेपालीहरु आफ्नो पर्व सस्ंकार पात्रो अनुसार गर्ने भएपनि नेपालको पात्रो २ हजार बर्षदेखी अद्याबधिक भएको छैन। २ हजार बर्षमा २७ दिन हराईसकेकाले पात्रो सुधार गर्नु आबश्यक रहेको मेकानिकल इन्जिनियर हरिनारायण मल्लले तर्क गर्नुभयो । अहिले दशैं मनाएकाहरु एक महिनापछिको अर्को दशैं पनि मनाउने छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले भने अहिले नै दशै मान्नु शास्त्र विपरीत रहेको बताएका छन् ।‘ सुर्य र चन्द्रमाको गतिको आधारमा दिन घटबढ हुन्छ।’ उनले भने ‘अहिले ३ सय ६५ दिनमध्ये २४ दिन घटबढ भएको पाईन्छ । हरेक ७२ बर्षमा १ दिन घट्छ। २४ बाट २७ दिन घटेपछि बल्ल यो ब्यबहारीक हुन्छ । पर्व सुधारका नाममा अहिले नै दशैको टिका लगाउनु धर्म, संस्कृति र शास्त्र विरुद्ध हो ।’

प्रतिक्रिया दिनुहोस्