
अपाङ्गता परिचयपत्र सम्बन्धी अभिमुखीकरण सम्पन्न
धार्चे गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । पालिका भित्रका सातै वडाहरुमा अभिमुखीकरण सम्पन्न भएको हो । सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई क, ख, ग र घ वर्गमा विभाजन गरेको छ । अभिमुखीकरणमा अपाङ्गता भएका व्यक्तिहरुलाई वर्गिकरणको प्रावधानका विषयमा जानकारी दिइएको पािलकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् ।
‘क वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई बढी भत्ता आउने सरकारी प्रावधान छ’, उनले भनिन्, ‘त्यसैले सबैको मनसाय क वर्गकै आउनु पर्छ भन्ने हुन्छ ।’ राज्यको पैसा दुरुपयोग हुनबाट जोगाउनका लागी कस्तो प्रकृतिको अपाङ्ग व्यक्ति कुन वर्गमा पर्छ भन्ने विषयमा अभिमुखीकरण गराएको उनले बताइन् । अभिमुखीकरण अवधिभर नेत्रहिन संघका सचिव पशुराम भट्ट र कार्यक्रम संयोजक जीवन कुमार बस्नेतले सहजिकरण गरेका थिए ।अभिमुखीकरणसँगै पालिकाले अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क समेत संकलन गरेको उनले बताइन् ।
‘धार्चे गाउँपालिका भर अपाङ्ग सम्बन्धी सामाजिक सुरक्षा भत्ता पाउने एक सय ८८ जना रहेको पाइयो’, उनले भनिन्, ‘३६ जना भने भत्ताको दायरामा परेका छैनन् ।’ तथ्याङ्क संकलन गर्ने क्रममा ४६ जना नयाँ अपाङ्गता भएका व्यक्तिहरु थपिएको उनले बताइन् । ‘थप भएका व्यक्तिहरुको मेडिकल रिपोर्ट आएपछि मात्र उनीहरु अपाङ्गताको कुन वर्गिकरणमा पर्ने, भत्ता पाउने या नपाउने आदि कुराहरु थाहा हुन्छ’, उपाध्यक्ष गुरुङले भनिन् ।




