| मङ्लबार, कार्तिक २४, २०८३

अजिरकोटमा ढाका बुनाईको एड्भान्स तालिम सम्पन्न

अजिरकोट गाउँपालिकामा दुई महिने एड्भान्स ढाका बुनाई तालिम सम्पन्न भएको छ । संघीय सरकारको आर्थिक सहयोग र पालिकाको समन्वयमा तालिम संचालन भएको थियो । तालिम संचालनका लागी संघबाट ५० लाख बजेट विनियोजन भएको गाउँपालिका उपाध्यक्ष अनिता भुजेलले बताइन् । उनका अनुसार तालिमका लागी आवश्यक कच्चा पदार्थ पालिकाले खरिद गरेको थियो ।

यसअघि पालिका आफैले ४५ दिने आधारभुत तालिम दिएको थियो । ‘फागुनमा पालिकाले ढाका बुनाईको आधारभुत तालिम दिएको थियो’, भुजेलले भनिन्, ‘त्यस लगतै संघको बजेट अन्तरगत मेसीन र तान किनेर दुई महिने एडभान्ड कोर्स दिएका हौँ ।’ तालिममा पालिकाभरका २३ जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको उनले बताइन् । तालिममा उनीहरुलाई साडी, टोपी, पछ्यौरी, कुर्था, पटुका लगायतका कपडाहरु बुन्न सिकाइएको छ ।

ढाका उद्योग निर्माण गरेर सिप प्रवद्र्धन गर्ने तालिमको लक्ष्य रहेको उनी बताउँछिन् । ‘अब ढाका उद्योग खोल्ने योजना छ । पालिका अन्तरगत नै उद्योग संचालन गरेर महिलाहरुको आयआर्जनमा जोड दिने लक्ष्य राखेका छौँ,’ उनले भनिन् । ढाका उद्योग निर्माणका लागी १५ लाख रकम समेत बिनियोजन गरिएको उनले बताइन् ।

‘पालिकाले ढाका उद्योग निर्माणका लागी रकम समेत बिनियोजन गरिसकेको छ’, उनले भनिन्, ‘उत्पादित सामाग्रीहरु केही उद्योगबाटै र केही पालिकाको कोसेली घरबाट बेच्ने योजना छ ।’ महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उदेश्य सहित कार्यक्रम ल्याइएको उनले बताइन् । तालिमको आइतवार एक कार्यक्रमका बीच समापन गरिएको हो । कार्यक्रममा भुजेल, कार्यपालिका सदस्य उमा गुरुङ, महिला सञ्जालकी पार्वती रेग्मी लगायतको सहभागितामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्