
नेपाल मगर संघको राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
जिल्ला सदरमुकाममा हुन लागेको नेपाल मगर संघ केन्द्रिय समितिको २८ औँ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यही जेठ १२ र १३ गते हुन लागेको सम्मेलनको करिव ७० प्रतिशत तयारी पुरा भईसकेको संघका केन्द्रिय समिति सदस्य एवं राष्ट्रिय सम्मेलनका संयोजक विष्णु रानाले बताए ।
उनका अनुसार स्टेज निर्माण, बजार श्रृंगार, ब्यानर, ध्वजा पतका टाँग्ने कामहरु सम्पन्न भईसकेका छन् । केही व्यवस्थापनको काम बाँकी रहेको उनले जानकारी दिए । सम्मेलनमा मगर समुदायको सामाजिक, राजनीतिक तथा आर्थिक विकासको विषयमा छलफल गरिने बताइएको छ । सम्मेलनले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने संयोजक राना बताउँछन् ।
‘राष्ट्रिय सम्मेलन जिल्लामा हुनु गोर्खालीहरुको गौरवको विषय हो’, उनले भने, ‘सम्मेलनका लागी जिल्लाको ११ वटै स्थानीय तहहरुबाट सहयोग प्राप्त भएको छ ।’ प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नसम्मेलन मार्फत माग गरिने संघले जनाएको छ ।
सम्मेलनमा प्रदेश, संघका भातृ संगठन, वैदेशिक शाखा र ७७ वटै जिल्ला समितिहरुबाट सात सयभन्दा बढी पदाधिकारीहरुको सहभागिता हुने बताइएको छ । करिब १० हजार जना सम्मेलनमा सहभागी हुने अनुमान गरिएको छ । सम्मेलन सम्पन्न गर्न करिब ४० लाख खर्च हुने अनुमान आयोजकको छ ।




