
पालुङटारमा मकै तथा लहरे बालीमा रोग देखा पर्न थाले
पालुङटारमा लगाइएका मकै तथा लहरे बालीहरुमा रोग देखा परेको छ । आइतवार भएको बाली उपचार शिविरमा भएको परिक्षणमा मकै बालीमा अमेरिकन फौजी किरा, मकैमा गबारो र लहरे बालीमा लाही र रातो खपटे किरा देखा परेको कृषि ज्ञान केन्द्रकी प्रमुख मिरा चौधरीले बताइन् ।
त्यस्तै काक्रो र करेलामा फल कुहाउने झिंगा, लिचिमा सुलसुले, मेवामा मिलि बग र कागतिमा पात खन्ने र कत्ले कीराको समस्या देखिएको उनले जानकारी दिइन् । शिविरमा दुई सय नमूना बालीहरुको परिक्षण भएको थियो । शिविरमा सहभागी किसानहरुलाई रोग व्यवस्थापनको उपायबारे समेत जानकारी गराइएको उनले बताइन् ।
‘शिविरमा ल्याउन सम्भव नभएका फलफुल जातीका बालीहरुको बगैंचामै पुगेरे परिक्षणसँगै प्रशिक्षण पनि गराएका थियौ,’ उनले भनिन् । कृषि ज्ञान केन्द्रको आयोजना तथा पालुङटार नगरपालिकाको समन्वयमा एक दिने शिविर भएको हो । जिल्लाका सबै पालिकामा बाली उपचार शिविर संचालन गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । ‘हरेक पालिकाहरुमा पुग्ने लक्ष्य केन्द्रको छ’, उनले भनिन्, ‘समस्याका आधारमा पालिकाहरुलाई प्राथमिकतामा राखेर शिविर संचालन गर्छाै ।’




