
मनास्लु आरोहण दिवस : वैकल्पिक पर्यटन पदमार्ग निर्माणको माग
मनास्लु क्षेत्रमा धमाधम मोटरबाटो निर्माण हुन थालेकाले अब बैकल्पिक पर्यटन पदमार्गको खोजी गर्नुपर्नेमा जोड दिइएको छ । बिहिबार चुमनुब्री ३ फिलिममा आयोजित ६८ औँ मनास्लु आरोहण दिवस समारोहमा बोल्दै त्यस क्षेत्रका अगुवाहरुले वैकल्पिक पदमार्ग निर्माणमा जोड दिएका हुन् ।
‘मनास्लु क्षेत्रमा पर्यटन पदमार्ग विस्तार गर्नु अति जरुरी छ’, कार्यक्रमका अध्यक्षसमेत रहेका चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भने, ‘सडक निर्माण भएपछि साविकको पर्यटन पदमार्ग प्रयोगविहिन हुनेछ । त्यसको विकल्पमा उपयुक्त रुट खोजी गरी पदमार्ग र अरु भौतिक पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता हो ।
’ साथै उनले आउँदो बर्ष ६९ औँ मनास्लु आरोहण दिवस सामागाउँमा मनाउने र ७० औं बर्षको उपलक्ष्यमा हिरक जयन्ती वृहद रुपमा मनाउने पनि जानकारी गराएका थिए । त्यस्तै मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का प्रमुख सन्तोष शेरचनले एमक्याप स्थानीय तहसंग हातेमालो गरेर अघि बढ्ने बताएका थिए ।
‘सबैको साथ, सहयोग र सहकार्य भएमा मनास्लु पदमार्ग विश्वकै उत्कृष्टमध्य पर्नेमा कुनै शंका छैन’, उनले भने, ‘यसका लागि सर्वपक्षीय प्रयासको खाँचो छ ।’
धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले सडक बनेपछि पर्यटन क्षेत्रको विकासका लागि विकल्प सोच्नुपर्ने बताएका थिए । ‘रुपिनाला रुट, हिनाङ, कालताल, सेराङ, गुम्बालोङटाङ, गणेशहिमालजस्ता रुटलाई प्रवद्र्धन गर्नुपर्छ’, उनले
भने ।




