
कुरीतिविरुद्ध सचेतना कार्यक्रम
शहिद लखन गाउँपालिका वडा न १ बक्राङमा कुरीति विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । थानी देवी सामुदायिक सिकाई केन्द्रको आयोजना तथा सामाजिक विकास कार्यालय गोरखाको समन्वयमा सोमबार सचेतना कार्यक्रम गरिएको हो ।
सो कार्यक्रममा सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियारले ‘लैङ्गिक हिंसा र न्यूनिकरणमा स्थानीय संघसंस्थाको भूमिका’ विषयमा सहजिकरण गरेका थिए । त्यस्तै ईलाका प्रहरी कार्यालय मनकामनाका प्रहरी ईन्चार्ज राजेश मल्ल ठकुरीले ‘लागू पदार्थ दुव्र्यशनी र विद्युतीय अपराधबारे सहजिकरण गरेका थिए । सामुदायिक सिकाई केन्द्रले वडामा विभिन्न समुहहरु बनाई सचेतिकरण गर्दै आईरहेको छ ।
साथै महिलाहरु सशक्तिकरणको लागि आय आर्जन समूह बनाई सहजिकरण गर्ने गरेको छ । सामुदायिक सिकाई केन्द्रको लक्ष्य भनेको समाजबाट कुरीतिहरु हटाउने रहेको कार्यक्रममा बताइएको थियो । थानीदेवी सिकाई केन्द्रको अध्यक्ष हेम थापाको अध्यक्षता तथा वडा न १ का वडा अध्यक्ष प्रेम गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रममा वडा न १ का पूर्व वडाअध्यक्ष दीपबहादुर केशी, महेन्द्र शक्ति मावि बक्राङका अध्यक्ष प्रकाश अर्यालले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका वक्ताहरुले चेतनाको अभावका कारण महिलामाथि हुने निर्मम हिंसा सहनु भनेको हिंसालाई झनै प्रोत्साहन गर्नु हो भन्नेमा जोड दिएका थिए । घरेलु हिंसाका कारण विद्यार्थीको पठनपाठनमा असर गर्नुका साथै पारिवारिक कलहका कारण दुव्र्यसनमा फँसिरहेको बताए ।




