
अजिरकोटमा भिरमौरीको मह शिकार महोत्सव हुदैँ
अजिरकोट गाउँपालिकामा भिरमौरीको मह शिकार महोत्सव (हनी हन्टिङ फेस्टिवल) हुने भएको छ । पालिकाको आयोजनामा यही बैशाख १९ गतेबाट महोत्सव हुन लागेको हो । वडा नं २ ओलाङ स्थित तालबगरमा महोत्सव हुने गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताए ।
परम्परागत पेशालाई व्यवस्थित गर्दै भीरमौरीको महलाई व्यवसायीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनले जानकारी दिए । ‘यहाँ भिरमौरीको मह शिकार गर्ने परम्परा पहिलेदेखि नै छ,’ उनले भने, ‘यसलाई थप व्यवस्थित र आधुनिकिकरण बनाउँदै पर्यटन भित्र्याउने लक्ष्य हो ।’ मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तरगतको पर्यटनमैत्री नमुना गाउँ तथा जिविकोपार्जन सुधार परियोजना अन्तरगत महोत्सव गर्न लागिएको बताइएको छ ।
ओलाङको गुरुङ र तामाङ समुदायका मानिसहरु भीरमा डोरीको सहाराले जोखिमपूर्ण ढंगले मह निकाल्ने गर्छन् । महोत्सवमा भिरमौरीको मह निकाल्ने पेशामा संलग्नहरुलाई जोखिम कम हुने विधिका बारेमा तालिम समेत प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।




