
‘प्रादेशिक अपाङ्गता अधिकार ऐन’ निर्माणका लागि सुझाव संकलन
प्रादेशिक ऐन तर्जुमा प्रक्रियामा स्थानीय अपाङ्गता भएका व्यक्तिका संस्थाको क्षमता बिकासका लागि जिल्लामा अभिमुखिकरण कार्यक्रम भएको छ । स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराको आयोजनामा सोमवार कार्यक्रम भएको हो ।
जिल्लाका विभिन्न स्थानीय तहका फरक फरक अपाङ्गता भएका करिब ३२ जनाको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष सोमराज शर्माले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रदेश सरकारले ल्याएको अपाङ्गता नीति, निर्माण प्रक्रियामा रहेको अपाङ्गता अधिकार ऐन र ऐनमा समावेश हुनुपर्ने अपाङ्गता भएका व्यक्तिहरुका सवालका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा केन्द्रले अपाङ्गता भएका व्यक्तिहरुका समस्या, समाधानका उपाय र सुझाव समेत संकलन गरेको थियो । गण्डकी प्रदेश सरकारद्वारा २०७९ साल भदौमा पारित ‘अपाङ्गता अधिकार नीति’ को ऐन निर्माणका लागि आफूहरुले पहल गर्दै आएको केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङले बताए ।
सोही बिषयमा केन्द्रित रहेर प्रदेशको सबै जिल्लामा अभिमुखिकरण कार्यक्रम संचालन गर्दै आएको उनले जानकारी दिए । ‘प्रदेशका सबै जिल्लाहरुमा पुगी ‘अपाङ्गता अधिकार ऐन’ को मस्यौदा तयार गर्ने र प्रदेश सरकारलाई अपाङ्गता भएका व्यक्तिहरुको सवालहरु पेश गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।




