| मङ्लबार, कार्तिक २४, २०८३

वन डढेलो तथा आगलागी नियन्त्रणको कृत्रिम अभ्यास गरियो

‘आगो लाग्यो’ ! शुक्रवार बिहानै गोरखा नगरपालिका–१० टक्सारको कुवाडी सामुदायिक वनमा यो आवाज सुनिन्छ । आगो जस्तै छिनमै बिभिन्न निकायमा यो खवर फैलिन्छ । केही बेरमै सशस्त्र प्रहरीको टोली आइपुग्छ । स्थानीय र डिभिजन वन कार्यालयको टोली पनि उपस्थित हुन्छन् । सबैको समन्वयमा आगो नियन्त्रण हुन्छ । लगतै घरमा आगलागी भयो भन्दै मान्छे अत्तालिएर चिच्याउन थाल्छन् ।

उक्त टोली त्यहाँ पुग्छ र आगो नियन्त्रणमा अग्रसर हुन्छन् । आगलागीमा केही घाइते हुन्छन् । उनीहरुलाई एम्वुलेन्समा राखेर अस्पताल पु¥याउँछन् । अन्ततः आगो नियन्त्रणमा आउछ । यो दृश्य वास्तविक नभएर वन डँढेलो तथा आगलागी नियन्त्रणका लागि गरिएको कृत्रिम अभ्यास थियो । सशस्त्र प्रहरी बल नेपाल नम्वर २९ गुल्म गोरखा र गोरखा नगरपालिकाको आयोजनामा शुक्रवार बिहान कार्यक्रम भएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरीले वन डढेलो र आगलागी नियन्त्रण गर्ने उपायबारे कृत्रिम अभ्यास गरेर जानकारी गराएको थियो । ‘ग्यासको सिलिण्डरमा आगलागी भयो भने के गर्ने र कसरी आगो निभाउने भन्ने बारे डेमो गरेर देखायौ,’ सशस्त्र प्रहरी बल गोरखा गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक सुमन बोगटीले भने ।

पेट्रोलियम पदार्थबाट भएको आगलागी नियन्त्रण गर्ने उपायबारे पनि जानकारी गराइएको उनले जानकारी दिए । सरोकारवाला निकायसँग समन्वय गर्दै सशस्त्रले विपद व्यवस्थापन सम्बन्धि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्