| मङ्लबार, कार्तिक २४, २०८३

चुमनुब्रीमा कुकुर र बिरालोको बन्ध्याकरण सुरु

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा कुकुर र बिरालोको बन्ध्याकरण गर्ने अभियान सुरु भएको छ । मनास्लु संरक्षण क्षेत्रको आयोजना (एमक्याप) तथा गाउँपालिका, भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र र हेल्थ नेपाल र एनिमल नेपालको साझेदारीमा बिहीवारबाट अभियान सुरु भएको हो ।

मनास्लु संरक्षण क्षेत्रमा कुकुर नियन्त्रणका लागि अभियान संचालन गरिएको एमक्याप प्रमुख सन्तोष शेरचनले बताए । ‘त्यो क्षेत्रमा अर्ध जंगली कुकुरले घरपालुवा पशुचौपाय तथा वन्यजन्तुसँगै पर्यटकलाई पनि आक्रमण गर्दै आएकाले समस्या भइरहेको छ’ उनले भने, ‘त्यसैले त्यसको नियन्त्रणका लागि पनि यो अभियान संचालन गरेका हौँ ।’ बिहिबार पाँच वटा कुकुर र एउटा बिरालोको बन्ध्याकरण गरिएको एनिमल नेपालकी सूचना अधिकारी राधा गुरुङले बताइन् ।

उनीहरुलाई रेविज विरुद्धको खोप पनि लगाइएको उनले जानकारी दिइन् । छेकम्पार, साम्दो, सामागाउँ र ल्हो क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर चुमनुव्री गाउँपालिकाका सबै वडामा यो अभियान संचालन हुने बताइएको छ । २६ दिनसम्म अभियान संचालन हुने छ ।

अभियानको बिहिबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष निमा लामाले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उनले कुकुर नियन्त्रणका लागि पहिलो चरणमा यो अभियान संचालन गरिएको बताए । आगामि दिनमा थप कार्यक्रम संचालन गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्