| मङ्लबार, कार्तिक २४, २०८३

पूर्वाधार विकास कार्यालय गोरखाको सार्वजनिक सुनुवाई

पूर्वाधार विकास कार्यालय गोरखाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजना तथा नागरिक समाज सञ्चार नेटवर्कको सहजीकरणमा पूर्वाधार विकास कार्यालय गोरखाले आर्थिक बर्ष २०७९/८० मा सञ्चालन गरेका योजना, कार्यक्रम तथा सेवा प्रवाहका बारे सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रमको उद्देश्यमाथि नागरिक समाज सञ्चार नेटवर्ककी सदस्य मेलिना बरामले प्रकाश पारिन् ।

कार्यक्रममा कार्यालयका प्रमुख गणेश सुवेदीले आर्थिक बर्ष २०७९/८० को कार्यप्रगति विवरणको प्रस्तुतीकरण गरेका थिए । गत आर्थिक वर्षमा कार्यालयले ६२.०५ प्रतिशत भौतिक प्रगति र ६०.८४ प्रतिशत वित्तिय प्रगति गरेको प्रमुख सुवेदीले प्रस्तुत गरेको कार्यप्रगति विवरणमा उल्लेख गरिएको छ । जसमा चालुतर्फ ७१.०५ प्रतिशत भौतिक प्रगति भएको छ भने ७०.०३ प्रतिशत वित्तिय प्रगति गरेको छ ।

पूँजीगत अन्तरगत प्रदेश तर्फ ६२.७२ प्रतिशत भौतिक र ६०.७१ प्रतिशत वित्तिय प्रगति गरेको उनले जानकारी गराए । यस्तै पूँजीगत अन्तरगत नै संघ सशर्तमा ६२.०५ भौतिक र ६०.८५ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेका छ । पूर्वाधार विकास कार्यालयको सेवा प्रवाह र विकास निर्माणका बारे सहभागीहरुले विभिन्न जिज्ञासा राखेका थिए ।

स्थानीयको जिज्ञासाको जवाफ पूर्वाधार विकास कार्यालयका प्रमुख गणेश सुवेदीले दिएका हुन् । उनले विकास निर्माण र कार्यालयको सेवा प्रवाहमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजाने र आगामी दिनमा गुणस्तरीय सेवा दिने प्रतिवद्धता ब्यक्त गरे । सहिद लखन गाउँपालिका ७ पोखरीडाँडाँमा भएको कार्यक्रमको सहजीकरण नागरिक समाज सञ्चार नेटवर्कका प्रवन्ध निर्देशक मोहसिन अलि मियाँले गरेको हुन् ।

पूर्वाधार विकास कार्यालयका प्रमुख गणेश सुवेदीको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश थापा मगर, वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठ र वडा नम्बर ८ का वडाध्यक्ष बासुदेव ढकाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्