
दोस्रो पटक सगरमाथा आरोहण गर्दै छेकम्पारकी फुन्जो
चुमनुब्री गाउँपालिका छेकम्पारकी फुन्जो झाङ्मो लामा दोस्रो पटक सगरमाथा आरोहण गर्दैछिन् । आउँदो आइतवार सगरमाथा आरोहणका लागि जाने उनले बताइन् । विश्व खेलकुदमा स्की सम्बन्धी खेल सुरु भएको एकसय वर्ष पुगेको अवसरमा उनले दोस्रो पटक सगरमाथा आरोहण गर्न लागेकी हुन् ।
स्की संघ तथा स्नो बोर्ड संघ (फिस) को झन्डासहित उनी सगरमाथा ओरोहणमा निस्कने छिन् । आरोहणको सफलताको शुभकामना सहित बुधवार उनलाई स्की संघ नेपालले बिदाई गरेको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष समेत रहेका संघका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमका बीच फुन्जोलाई बिदाइ गरेका हुन् ।
फिसको झन्डा हस्तान्तरण गरेर उनलाई बिदाइ गरिएको हो । यसअघि फुन्जोले २०७५ सालमा पहिलो पटक सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन् । त्यती बेला सबै भन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रुपमा उनले विश्व रेकर्ड कायम गरेकी थिइन् ।




