
खोर्लाका गुरुङ बने लम्जुङको सिडिओ
प्रगति गर्न भौगोलिक विकटताले बन्देज गर्दैन भन्ने उदाहरण बनेका धार्चे ३ खोर्लाका वुद्ध गुरुङ । कडा लोकसेवामा कडा प्रतिस्पर्धा गर्दै निजामति सेवामा प्रवेश गरेका गुरुङ अहिले नेपाल सरकारको सहसचिव बन्न सफल भएका छन् ।
सदरमुकामबाट धेरै पर, उच्च पहाडी भूभागमा अवस्थित खोर्लाका वुद्ध गुरुङ अहिले प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत छन् । यही चैत्र ७ गते गृहमन्त्रालयले उनलाई प्रजिअको नियुक्ती दिई लम्जुङ पोस्टिङ गरेको हो । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए ।
उनले खोर्लाको सातकन्या माविबाट माध्यमिक तह शिक्षा पूरा गरेका थिए । उच्च शिक्षाका लागि राजधानी छिरेका उनी २०५४ सालमा निजामती सेवामा प्रवेश गरेका हुन् । २०६१ सालमा शाखा अघिकृत, २०७० सालमा उपसचिव हुँदै २०७७ सालमा सहसचिव बनेको उनले जानकारी दिए ।
करिब चार वर्ष प्रधानमन्त्रीको कार्यलयमा कार्यरत रहेपछि गृहमन्त्रालयले गुरुङलाई चैत ७ गते लम्जुङको प्रजिअमा खटाएको हो । ‘नेपालमै बसेर केही गर्नुपर्छ भनेर संघर्ष गर्दै यहाँसम्म आइपुगेको हुँ’, उनले भने, ‘सङघर्ष गरे असम्भव भन्ने केही हुँदैन ।’




