| मङ्लबार, कार्तिक २४, २०८३

भन्सार छलीको सुन सहित गोरखाका एक व्यक्ति पक्राउ

रसुवा जिल्लाको केरुङ नाका हुँदै ल्याएको भन्सार छलीको सुनसहित गोरखाका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका–७ लेरुका ३९ बर्षीय सोनाम दोर्जे लामा रहेको प्रहरीले जनाएको छ । उनी सहित सुनसरीका २६ बर्षीय सुदिप बिक पनि पक्राउ परेका छन् ।

भन्सार छली गरेर ल्याएको सुनसहित काठमाडौँ प्रवेश गरेको गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौँको नरदेवीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए ।

उनीहरूको साथबाट बजार भाउ अनुसार १३ लाख ९१ हजार १६० रुपैयाँ बराबरको अन्दाजी १२८.७ ग्राम सुन बरामद गरिएको थियो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्