
पालुङ्टार ९ सिस्नेरी र रिपथोकमा तीनदिनदेखि विद्युत सेवा अवरुद्ध
पालुङ्टार नगरपालिका ९ सिस्नेरीबेशी र रिपथोक क्षेत्र बिगत तीनदिनदेखि विद्युतविहिन बनेको छ । केहीदिनअघिको बर्षाका बेला बिग्रिएको विद्युत सेवा तीन दिन बितिसक्दा मर्मतसम्भार नहुँदा सो क्षेत्र अन्धकारमय बनेको स्थानीय शिव परियारले जानकारी दिए ।
‘तीन दिन भयो, हाम्रो गाउँका १२० घरधुरी अन्धकारमय बनेको’, परियारले भने, ‘लाइन नहुँदा बत्ती बाल्न पनि पाइएन, मोबाइल चार्ज गर्न पनि पाइएन, रेडियो, टिभी सुन्न पनि पाइएन । साह्रै बिचल्ली भयो ।’ विद्युतका स्थानीय कर्मचारीलाई फोन गर्दा पनि वास्ता नगरेका, प्राधिकरणको गोरखास्थित कार्यालयमा गुनासो गर्दा पनि तीनदिनसम्म वास्ता नगरेको भन्दै उनले गुनासो गरेका छन् ।
लामो समयदेखि विद्युत विहिन हुँदा विद्यार्थीहरु पनि समस्यामा छन् । ‘अहिले सबै विद्यालयमा अन्तिम परीक्षा चलिरहेको छ, तर रातका बेला कसैले पढ्न पाएका छैनन्’, अर्का स्थानीय डम्बर रानाले भने, ‘एसईई आउनै लागिसक्यो । एसईईको तयारी गरेका विद्यार्थीलाई झन् ठूलो मर्का परेको छ ।’
विद्युत प्राधिकरणका स्थानीय प्राविधिक बिरामी भएकाले समयमै मर्मत हुन नसकेको भन्दै प्राधिकरणका गोरखा शाखाका प्रमुख चिजबहादुर गुरुङले सदरमुकामबाट प्राविधिक पठाएर मर्मतसम्भार गर्ने बताएका छन् ।




