
गोरखा नगरपालिकाद्वारा भक्तपुरको सम्पदा बस्ती अवलोकन
गोरखा सदरमुकामको पुरानो बजार (ठुलोआँगन) क्षेत्रलाई सम्पदा बस्ती निर्माण गर्ने योजना अनुरुप गोरखा नगरपालिकाले भक्तपुरमा रहेको सम्पदा बस्तीको अवलोकन गरेको छ ।
रविन्द्र पुरी फाउण्डेशनले निर्माण गरेको उक्त सम्पदा बस्तीको मंगलवार नगरकार्यपालिकाका सदस्य एवं कर्मचारीले स्थलगत अवलोकन गरेका हुन् । अवलोकन पश्चात सम्पदा बस्तीबारे छलफल समेत भएको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए ।
‘फाउण्डेशनले बनाएको सम्पदा बस्ती र त्यहाँका बनाइएको परम्परागत शैलीका काष्ठकला र बास्तुकलाहरु हे¥यौँ,’ उनले भने, ‘लगभग त्यही मोडलमा फाउण्डेशनले गोरखामा पनि सम्पदा बस्ती निर्माण गर्ने भनेर डिपिआर पनि तयार गरिसकेको छ । संरचना कस्तो बन्ने रहेछ भनेर अवलोकन गर्न पनि आएका हौँ ।’ सम्पदा बस्ती निर्माणका लागि यसअघि पनि गोरखा नगरपालिकामा सो फाउण्डेशन र सरोकारवाला बीच दुई चरणमा छलफल भइसकेको उनले जानकारी दिए । ‘यसअघि पनि हामी यहाँको बस्ती अवलोकन गर्न आएका थियौँ ।
यहाँको जस्तै सबै घर भत्काएर नयाँ स्वरुप दिन मुस्किल छ, तर घर अगाडिको भाग भने सम्पदा झल्कने खालको एकै प्रकारको बनाउन भने सम्भव देखेका छौँ,’ मेयर रानाले भने । घरको अगाडि भागमा आँखीझ्याल –ढोका र इट्टाको गारो लगाएर एकनाशको बनाइने उनले जानकारी दिए ।
बस्ती निर्माणका लागि संघीय सरकारसँग आर्थिक सहयोगका लागि पहल समेत गरिरहेको उनले बताए । आज (बुधबार) यही बिषयमा प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम समेत रहेको उनको भनाइ छ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्र घोषणा गरेर अघि बढ्ने योजना समेत रहेको बताउँदै मेयर रानाले प्रदेशसँग पनि आवश्यक समन्वय भइरहेको जानकारी दिए ।
सम्पदा बस्ती निर्माणको योजना नगरपालिकाको नीति तथा कार्यक्रममै समावेश गरिएको उनले बताए । ‘हामीले पनि आफ्नो क्षमताले भ्याएसम्म रकम विनियोजन गर्छाै, हाम्रो बजेटले मात्र नधान्ने भएकाले संघ र प्रदेशसँग समन्वय गरिरहेका हौ,’ उनले भने ।




