
बारपाक स्कुलमा पुनः आगलागी
बारपाक सुलिकोट गाउँपालिका–२ स्थित बारपाक इङ्लिस बोर्डिङ स्कुलमा आगलागी भएको छ । शनिबार राती करिब तीन बजे आगलागी भएको स्कुलका संस्थापक अध्यक्ष गौतम गुरुङले बताए । आगलागीबाट अफिस कोठामा रहेको प्रिन्टर, मन्टेस्वरीका बालबालिकाका लागी प्रयोग हुने शैक्षिक सामग्री, भुइमा ओछ्याएको म्याट सबै जलेर नष्ट भएको उनले जानकारी दिए ।
सोही कार्यालयमा भएको परिक्षाको उत्तरपुस्तिका भने केही नभएको भन्दै उनले नियतवश कसैले आगजनी गरेको हुनसक्ने बताए । राती आगलागी भएपनि बिद्यालय खुल्ने समयमा मात्र थाहा भएको उनले जानकारी दिए । ‘राती नै आगलागी भएको रहेछ, तर एक जना सिस्टर स्कुल खोल्न जाँदा पो बल्ल थाहा भयो, उहाँ पुग्दा सामान जलेर नष्ट भइसकेको र आगो पनि निभिसकेको रहेछ,’ गुरुङले भने ।
कार्यालयका सामानहरु एक ठाउँमा जम्मा पारेर आगजनी गरिएकाले घटना शंकास्पद रहेको उनले बताए । शिक्षकलाई इंकित गरेर उक्त कोठामा रहेको ह्वाइट बोर्डमा अश्लिल शब्दहरु समेत लेखिएको भेटिएको उनले जानकारी गराए । गत चैत ३ गते पनि बिद्यालयको अफिस कोठामा आगलागी भएको थियो । त्यसपश्चात मन्टेश्वरी कक्षा संचालन हुने कोठामा अफिस संचालन हुदै आएको थियो । शुक्रवार राती सोही कक्षामा आगलागी भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रमेशकुमार श्रेष्ठले घटना शंकास्पद देखिएको बताए । उनका अनुसार घटनामा भएको क्षतिको विवरण भने एकिन भएको छैन । गत चैत ३ गतेको घटनामा संलग्न रहेको आशंकमा एक जनालाई प्रहरीले पक्राउ समेत गरेको थियो । उनलाई अहिले तारिखमा छाडिएको छ । अहिलेको घटनापनि शंकास्पद देखिएकाले थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए । उक्त बिद्यालय मन्टेश्वरी देखि ६ कक्षासम्म सञ्चालनमा छ ।




