
चुमनुब्रीमा तीनदिनपछि मोबाइल सेवा सुचारु
चुमनुब्री गाउँपालिकामा तीनदिनदेखि अबरुद्ध बनेको मोबाइल सेवा बुधबार बेलुकाबाट सुचारु भएको छ । सेवा ठप्प बनेको खबर पाएलगतै नेपाल टेलिकम गोरखा शाखाले पोखराबाट प्राविधिक टोली बोलाएर काम सुरु गरेकोमा बुधबार बेलुकादेखि मोबाइल सेवा सुचारु भएको हो ।
हाई भोल्टेजका कारण लाइनमा समस्या देखिएको नेपाल टेलिकम गोरखा शाखाका प्रमुख सरोज अर्यालले जानकारी दिए । ‘मर्मतको काम लगभग सकियो’, उनले भने, ‘बिहिबार अन्य ठाउँमा पनि अनुगमन गरेर फर्कन्छौँ ।’ भौगोलिक बिकटताका कारण समयमा समस्या समाधान गर्न नसकिएको उनको भनाई छ ।
धार्चे गाउँपालिका–२ केरौजामा रहेको नेपाल टेलिकम टावरमा समस्या आएपछि पालिकाभरि नै मोबाइल सेवा बन्द भएको थियो । ३ दिनसम्म मोबाइल सेवा बन्द हुँदा जनजीवन नै प्रभावित बनेको स्थानियहरु बताउँछन् ।




