
बारपाक सुलिकोटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बारपाक सुलिकोट गाउँपालिका–३ चित्रेगाउँका स्थानीयलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण गरिएको छ । बाह्रमुले युवा क्लवको आयोजनामा आइतवार कार्यक्रम भएको हो ।
समुदायमा वित्तीय ज्ञान नहुँदा ऋिण लिने, फिर्ता नगर्ने जस्ता क्रियाकलाप बढेकाले साक्षरता कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष रिजन विश्वकर्माले बताए । ‘आजभोलि सहकारीहरुको पनि बिगबिगी छ’, उनले भने, ‘गाउँका मानिसहरुले पनि सहकारीबाट पैसा लिने तर फिर्ता गर्न नसक्ने जस्ता समस्याहरु बढेकाले पनि यो कार्यक्रम गरेका हौँ ।’
कार्यक्रममा सहभागीहरुलाई फजुल खर्च नियन्त्रण गर्न र पैसाको उचित लगानी कसरी गर्ने भन्ने बारेमा पनि जानकारी गराइएको थियो । कार्यक्रम अवधिभर नारायण ढकालले सहजीकरण गरेका थिए ।




