
जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ, अर्का एक पुर्पक्षका लागि थुनामा
जबरजस्ती करणी अभियोगमा गोरखाको प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १८ घर भई हाल काठमाडौं बालुवाटार बस्ने ३२ वर्षीय प्रदिप लामा लोप्चनलाई १२ वर्षीया बालिकालाई करणी गरेको अरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बालिकालाई विभिन्न प्रलोभनमा पारी लोप्चनले गत माघ २१ गते काठमाडौंबाट भगाएर पालुङटार नगरपालिका वडा नं. ५ मा ल्याई राखेको खुलेको प्रहरी नायब उपरिक्षक रमेश कुमार श्रेष्ठले बताए । लोप्चनले बालिकालाई फागुन १ गतेदेखि ६ गतेसम्म पटक–पटक जबरजस्ती करणी गरेको भनी पीडितको आफन्तले प्रहरी परिसर, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालीमाटी काठमाडौंमा जाहेरी दरखास्त दिएका थिए ।
सोही आधारमा लोप्चनलाई फागुन १२ गते शनिबार पक्राउ गरिएको उनले जानकारी दिए । उनीविरुद्ध सोमबार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले बताए । त्यस्तै जबरजस्ती करणी मुद्दामा गत माघ २१ गते पक्राउ परेका ५५ वर्षका मिन बहादुर थापालाई सोमबार पुर्पक्षको लागि थुनामा पठाएको छ ।
शहिदलखन गाँउपालिका वडा नं. ६ ज्यामीरस्वाँराका थापाविरुद्ध १४ वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ । उनलाई गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको प्रहरीले जनाएको छ ।




